लन्डन (एएफपी) – भारतका प्रशिक्षक रवि शास्त्रीले इङ्ल्यान्डविरुद्ध पाँच टेस्टको शृंखला गुमाइसके पनि शुक्रबार ओभलमा हुने अन्तिम टेस्टमा सुखद नजिता ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।
इङ्ल्यान्डले आइतबार साउथह्यामटनमा सम्पन्न चौथो टेस्टमा ६० रनको जित हात पार्दै एक खेलअगावै टेस्ट शृंखलामा ३–१ ले कब्जा जमाएको थियो।
विश्व टेस्ट वरीयताको शीर्ष टोली भारतले एसियाली भूमिबहिर खेलिएका नौ टेस्ट शृंखलामा एउटा मात्र जितेको छ।
इङ्ल्यान्डका लागि भने पूर्वकप्तान एलेस्टर कुकको अन्तर्राष्ट्रिय खेलजीवनको बिदाइ खेलका रूपमा रहेको पाँचाैं टेस्ट थप विशेष रहेको छ।
तर १९८६ मा खेलाडीका रूपमा भारतलाई इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखला जिताएका शास्त्रीले कुकको सुखद बिदाइको लक्ष्यलाई पूर्णता नदिने बताए।
इङ्ल्यान्डबाट सर्वाधिक १ सय ६० टेस्ट खेलेका कुकले सोमबार भारतविरुद्धको अन्तिम टेस्टसँगै अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका थिए । यस क्रममा कुकले १२ हजार २ सय ५४ रन जोडेका छन् । जसमा ३२ शतक समावेश छ।
‘हामी त्यसै हार मान्ने टोली होइनौं,’ शास्त्रीले भने, ‘हामीले शृंखलाका सुरुआती दुई टेस्टमा स्वाभाविक प्रदर्शन गर्न नसके पनि तेस्रो टेस्टमा घरेलु टोलीलाई निराश पारेका थियाैं । चौथो टेस्ट ५०–५० को अवस्थामा रहँदा इङ्ल्यान्डले बाजी मार्दै शृंखला आफ्नो पक्षमा पार्न सफल भयो । तर हामी अन्तिम टेस्टमा सुखद नतिजा ल्याउन आतुर छौं।’
यसअघि भारतले यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला पनि २–१ ले गुमाएको थियो।
शृंखलामा भारतका कप्तान विराट कोहली ५ सय ४४ रनका साथ सर्वाधिक रनकर्ताको सूचीमा अग्रस्थानमा छन् । यस क्रममा उनले २ शतक प्रहार गरिसकेका छन् । चौथो टेस्टमा कोहली र अजिङ्क्या रहाने पवेलियन फर्केपछि भारतका इनिङ धराशयी बनेको थियो।
‘इङ्ल्यान्ड उत्कृष्ट टोली हो । उनीहरू शृंखला जिते पनि कुकको सुखद बिदाइका लागि भए पनि यो टेस्ट जित्न चाहन्छन्,’ शास्त्रीले भने, ‘त्यसैले हामी बलियो मानसिकताका साथ मैदान उत्रन आवश्यक छ । यो केवल खेल होइन, प्रतिष्ठाको लडाइँ पनि हो । हामी शृंखलामा ३–१ ले पछि छौं । तर यसको अर्थ हामी कमजोर टोली होइनाैं।’
३३ वर्षे कुकले टेस्ट क्रिकेटमा हालसम्म मात्र एक विकेट लिएका छन् । उनले भारतका तीव्र गतिका बलर ईशान्त शर्माको विकेट लिएका थिए।
‘मैले स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्न सकिरहेको छैन । आशा छ अन्तिम टेस्ट मेरा लागि सुखद बन्नेछ र अन्तिम खेलमा भए पनि मैले रनको लय भेट्टाउने छु,’ कुकले भने।
‘म ईशान्तसँग क्षमा माग्न चाहन्छु, किनभने मैले टेस्ट क्रिकेटमा हालसम्म एक विकेट लिएको छु र त्यो ईशान्तको थियो । त्यसपछिका शृंखलामा ईशान्तले मसँग बदला लिइरहेका छन् । पछिल्ला केही शृंखलामा उनले मलाई निरन्तर पवेलियनको बाटो देखाएका छन्,’ कुकले थपे।
प्रकाशित: २२ भाद्र २०७५ ०३:४२ शुक्रबार