खेल

‘बेलोन डी अर’ मा ग्रिजम्यानको दाबी

पेरिस (एएफपी) – फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले विश्वकप जित्नुका साथै एट्लेटिको मड्रिडबाट समेत उत्कृष्ट प्रदर्शन गरेकाले आफू यस पटकको ‘बेलोन डी अर’ अवार्डको हकदार भएको बताएका छन्।

२०१६ मा क्लबबाट र व्यक्तिगत कुनै पनि उपाधि नजिते पनि ग्रिजम्यान बेलोन डी अरको भोटिङमा क्रिस्टियानो रोनाल्डो र लियानल मेसीपछि तेस्रो स्थानमा परेका थिए। सो वर्ष उनको टोली फ्रान्सले घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिपमा पोर्चुगल र च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडलाई नतिजा सुम्पिएको थियो।

तर एट्लेटिकोलाई युरोपा कप र युएइएफए सुपर कपको उपाधि दिलाएका ग्रिजम्यान फ्रान्सले जुलाईमा क्रोएसियाई ४–२ ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जित्दा टोलीका नायक बनेका थिए।

‘२०१६  र यो वर्ष तुलना गर्दा म शीर्ष तीनमा पर्न सक्षम छु,’ २७ वर्षे ग्रिजम्यानले भने, ‘२०१६ मा मैले दुईवटा फाइनल गुमाएको थिएँ। तर यस पटक मैले तीनवटा फाइनल जितिसकेको छु।’

‘म योभन्दा राम्रो प्रदर्शन कस्तो हुन्छ भन्दै अचम्मित हुनेछु,’ बेलोन डी अरको उपाधि नजितेमा तपाईंमाथि अन्याय हुन्छ भन्ने प्रश्नमा ग्रिजम्यानले भने, ‘मैले तीनवटा उपाधि जितेको छु  र त्यो निर्णायक बन्न सक्छ। तर यो सबै कुरा मेरो हातमा छैन, किनभने मैले भोट गर्ने होइन।’

बेलोन डी अरमा पछिल्लो एक दशक रोनाल्डो र मेसीको दबदबा रहँदै आएको छ। यस क्रममा रोनाल्डो र मेसीले समान पाँच पटक उपाधि जितेका थिए।

रियाल मड्रिडलाई गत सिजन पनि च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डोलाई यस पटक पनि बेलोन डी अरको मुख्य दाबेदारका रूपमा हेरिएको छ।

तर ग्रिजम्यानले उक्त अवार्डमा मेसी र रोनाल्डोको पकड हटाउन सके सबैका लागि त्यो विशेष क्षण हुने बताए।

‘मैले आफूलाई यस पटक बेलोन डी अरको एक मात्र दाबेदारका रूपमा हेरेको छु । यो प्रतिष्ठित अवार्ड हो र खेलाडीले आफ्नो खेलजीवनमा पाउने अवस्मरणीय उपलब्धि । तपार्इं कुनै पनि घरेलु लिगका साथै विश्वकप र युरोपियन च्याम्पियनसिपको उत्कृष्ट खेलाडी घोषित हुन सक्नुहुनेछ । बेलोन डी अर त्योभन्दा फरक छ।’

तर यस पटक पनि ग्रिजम्यान निराश बन्ने सम्भावना बढी छ।

गत साता युइएफएले क्रोएसियाका कप्तान लुका मोडरिचलाई वर्ष खेलाडीको अवार्ड दिएको थियो। युइएफए वर्ष खेलाडीको शीर्ष तीनमा स्थान बनाउन असफल ग्रिजम्यानले हालै घोषित फिफा वर्ष खेलाडीको शीर्ष तीनको सूचीमा समेत स्थान बनाउन सकेनन्। दुवै अवार्डको सूचीमा मोडरिच, रोनाल्डो र मोहम्मद सालाहले स्थान बनाएका थिए।

‘यो लज्जास्पद कुरा हो । यो फिफाले प्रदान गर्ने ट्रफी होइन?,’ फिफा वर्ष खेलाडीको शीर्ष तीनको सूचीमा नपरेको बारे सोधेको प्रश्नमा ग्रिजम्यानले भने, ‘विश्वकप पनि फिफाले आयोजना गर्ने हो । हामीले विश्वकप जित्यौं । तर फिफाको वर्ष खेलाडीको शीर्ष तीन खेलाडीको सूचीमा कुनै पनि फ्रान्सेली खेलाडी छैनन्। यो न्याय संगत छैन।’

२०१६ अघिसम्म फिफा र फ्रान्सेली म्यागेजिनले संयुक्त रूपमा बेलोन डी अर अवार्डको घोषणा गर्दथे । तर त्यसपछि भने दुवैले छुट्टाछुट्टै अवार्डको आयोजन गरिरहेका छन्।

फिफा वर्षखेलाडीका लागि समर्थक, पत्रकार, राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकले भोट हाल्छन् भने बेलोन डी अरको अवार्डका लागि पत्रकारले मात्र भोट हाल्न पाउँछन्।

प्रकाशित: २१ भाद्र २०७५ ०३:११ बिहीबार

फ्रान्स एन्टोनी_ग्रिजम्यान बेलोन_डी_अर_अवार्ड