खेल

नाइजेरियाली प्रशिक्षकलाई सजाय

अबुजा (एएफपी) – नाइजेरियाली फुटबल संघ (एनएफएफ) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सालिसु युसुफमाथि बुधबार फुटबल एजेन्टका रूपमा आएका पत्रकारबाट रकम लिएको आरोपमा १ वर्षको प्रतिबन्ध लगाउनुका साथै ५ हजार डलर जरिवानाको सजाय सुनाएको छ।

बिबिसीले जुलाईमा सार्वजनिक गरेको एक भिडियो फुटेजमा युसुफले एक व्यक्तिसँग १ हजार डलर लिइरहेको देखिएको थियो। सञ्चारमाध्यमले २०१८ को अफ्रिकन नेसन्स च्याम्पियनसिपमा दुई युवा खेलाडीलाई नाइजेरियाली टोलीको छनोटमा समावेश गर्ने सर्तमा युसुफले रकम लिएको उल्लेख गरेका थिए। त्यस्तै प्रतियोगिताका लागि घोषित टोलीमा छनोट भएमा थप १५ प्रतिशत रकम दिने समझदारी भएको उल्लेख गरेका  थिए।

एनएफएफले गठन गरेको छानबिन कमिटीले सोही प्रमाणको आधारमा युसुफलाई दोषी मान्दै प्रतिबन्ध र जरिवानाको गराएको हो।

‘युसुफले एजेन्टका रूपमा आएका एक व्यक्तिसँग २०१८ को अफ्रिकन नेसन्स च्याम्पियनसिपमा दुई युवा खेलाडीलाई नाइजेरियाली टोलीको छनोटमा समावेश गर्ने सर्तमा १ हजार डलर लिएको र प्रतियोगिताका लागि घोषित टोलीमा छनोट भएमा थप १५ प्रतिशत रकम दिने समझदारी गरेको पुष्टि भएका कारण उनीमाथि १ वर्षको प्रतिबन्ध र ५ हजार डलरको जरिवाना तोकिएको हो,’ एनफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनले ३ महिनाभित्र जरिवाना बुझाउनुपर्नेछ।’

फुटबल एजेन्टका रूपमा आएका पत्रकारबाट रकम लिएको आरोपको खण्डन गर्दैै आएका युसुफसँग एनएफएफको सजायविरुद्ध अपिल गर्ने विकल्प बाँकी छ।

बिबिसीले उक्त अनुसन्धान अफ्रिकन फुटबलमा भएको भ्रष्टाचारमा घानाका पत्रकार आनस अर्मेवाय आनसमाथिको छानबिनकै हिस्सा भएको जनाएको थियो। घाना फुटबल संघमा भएको भ्रष्टाचारमा पनि आनसको मुख्य हात रहेको बताइएको छ।

तर नाइजेरियाली टोलीमा छनोट गर्ने भनिएका दुई खेलाडीको पहिचान भने अझै हुन सकेको छैन।

युसुफले बिबिसीलाई पत्र लेख्दै आफूले दुई व्यक्तिलाई भेटेको र उपहारका रूपमा रकम लिएको स्वीकार गरे पनि खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिनका लागि रकम नलिएको बताएका थिए।

प्रकाशित: २१ भाद्र २०७५ ०२:३१ बिहीबार

नाइजेरिया फुटबल