खेल

द. कोरियाले स्वर्ण जित्दा सनलाई राहत

जकार्ता (एएफपी) – जापानलाई २–१ ले पराजित गर्दै शनिबार एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेसँगै दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले व्यावसायिक खेलजीवनलाई निरन्तरता दिने भएका छन्।

इन्डोनेसियामा दक्षिण कोेरियाले स्वर्ण पदक नजितेमा सनले अनिवार्य रूपमा २१ महिने सैन्य तालिम गर्नुपर्ने थियो। यसले उनको व्यावसायिक खेलजीवनमाथि धक्का लाग्ने बताइएको थियो।

सनले एसियाली खेलकुदअघि इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामसँगको सम्झौता ५ वर्ष नवीकरण गरेका थिए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो।

अतरिक्त समयको तेस्रो मिनेटमा लि स्वेङवोले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि ह्वाङ ही चले गोल आफ्नो टोलीका तर्फबाट गोल थपेर दक्षिण कोरियाको अग्रता दोब्बर पारेका थिए।

खेल सकिन ५ मिनेट बाँकी हुँदा युदिया आयसेले गोल गर्दै जापानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

कांस्य पदकका लागि भएको खेलमा युएईले भियतनामलाई पेनाल्टी सुटआउटमा ४–३ ले निराश पा-यो।

प्रकाशित: १८ भाद्र २०७५ ०४:२६ सोमबार

एसियाली_खेलकुद दक्षिण_कोरिया स्वर्ण_पदक