खेल

रियालको उत्कृष्ट लय निरन्तर

मड्रिड (एएफपी) – रियाल मड्रिडले शनिबार लिगानेसमाथि ४–१ को सहज नतिजा निकालेको दिन एट्लेटिको मड्रिडले भने सेल्टा भिगोलाई नतिजा सुम्पिएको छ।

ला लिगामा रियालको जितयात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिने क्रममा करिम बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोस र गारेथ बेलले समान एक गोल गरे।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलको १७औं मिनेटमा बेलले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । बेलले ड्यानी कार्भाहालको पासलाई पोस्टको दिशा दिएका थिए।

तर रियालले आफ्नो अग्रता लामो समयसम्म टिकाउन सकेन। त्यसको ७ मिनेटपछि नै ग्युडो कारिलोले गोल गर्दै लिगानेसलाई खेलमा फर्काएका थिए।

४८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए। खेल सकिन २९ मिनेट बाँकी हुँदा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियालको अग्रता ३–१ मा पु-याएका थिए। त्यसको ६ मिनेटपछि रामोसले पेनाल्टीमा गोल गर्दै रियालको सहज जित पक्का गरेका थिए। लिगानेसका खेलाडीले मार्को एसेन्सियोलाई लडाएपछि रियालले पेनाल्टीको अवसर पाएको थियो।

स्ट्राइकर  क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा रियालले स्वाभाविक गोलको लय भेट्टाउन नसक्ने अनुमान गरिरहँदा बेल, बेन्जेमा र एसेन्सियोको अग्रपंक्तिले त्यसलाई गत साबित गरिदिएको छ। सिजनको सुरुआती तीन खेलमा बेन्जेमाले ४ गोल गरिसकेका छन् भने बेलले ३ गोल गरेका छन्।

‘कुनै एक खलाडी अन्यत्र जाँदैमा क्लब पछि पर्छ भन्ने हुँदैन,’ रियालका प्रशिक्षक युलेन लोप्तेगीले भने, ‘हामीसँग विश्वस्तरीय खेलाडी छन्। जो क्लबलाई सफतला दिलाउन सक्षम छन्।’

लिगानेसविरुद्धको खेलसँगै लोप्तेगीले बेल्जियन गोलकिपर थियाबाउट कोर्टोइसलाई रियालबाट डेब्यु गराएका थिए। कोर्टोइस यसै सिजन इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट रियालमा आबद्ध भएका थिए।

यता जारी सिजन स्वाभाविक लय भेट्टाउन संघर्षरत एट्लेटिकोले सेल्टा भिगोलाई २–० को नतिजा सुम्पिएको हो । पहिलो खेलमा भ्यालेन्सियासँग बराबरमा चित्त बुझाएको एट्लेटिकोले दोस्रो खेलमा नवप्रवेशी रायो भालेकानोमाथि १–० को कठिन जित हात पारेको थियो।

४६औं मिनेटमा म्याक्सिमिलियानो गोमेजको गोलमा सेल्टा भिगोले अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि इयागो आसपसले गोल गर्दै सेल्टा भिगोको अग्रता दोब्बर पारेका थिए।

‘सेल्टा भिगोले राम्रो प्रदर्शन ग-यो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘हामीले स्वाभाविक लय भेट्टाउन अझै सकिरहेका छैनाैं। सिजनको पहिलो खेलबाट टोलीमा देखिएको तालमेल अभावले तेस्रो खेलसम्म निरन्तरता पाइरहेको छ  र यो राम्रो संकेत होइन।’

प्रकाशित: १८ भाद्र २०७५ ०३:५१ सोमबार

रियाल_मड्रिड फुटबल