खेल

नेपाली टोली बंगलादेश प्रस्थान, उपाधि जिते जनही ५ लाख दिने एन्फाको घोषणा

तस्बिर सौजन्य : गाेलनेपाल डटकम

काठमाडाैं – अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाई गर्दै एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई ५ लाख दिने घोषणा गरेको हो।

यता बंगलादेशमा मंगलबारबाट सुरु हुने साफ सुजुकी कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ।

साफ खेल्न २० खेलाडी र पदाधिकारी गरी २८ सदस्यीय नेपाली टोली आज ढाका प्रस्थान गरेको हो। एन्फा कम्प्लेक्समा आइतबार एक कार्यक्रमको आयोजना गरेर फुटबल संघले खेलाडी तथा अफिसियललाई बिदाई गरेको हो।

साफमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले मंगलबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै नेपालले बुधबार भुटान र शुक्रबार बंगलादेशको सामना गर्नेछ। अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन्।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

 

प्रकाशित: १७ भाद्र २०७५ ०९:५६ आइतबार

खेलाडीलाई_हौसला एन्फा साफ