खेल

माउरिन्हो सम्मानको हकदारः ग्वार्डिओला

लन्डन – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले जारी सिजन प्रिमियर लिगमा लयअनुरूपको प्रदर्शन गर्न नसके पनि प्रशिक्षक जोजे माउरिन्हो सम्मानको हकदार भएको बताएका छन्।

जारी सिजन इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटीलाई पराजित गर्दै सुखद सुरुआत गरे पनि दोस्रो र तेस्रो खेलमा क्रमशः ब्राइटन र टोटेनह्यामलाई नतिजा सुम्पिएपछि माउरिन्हो दबाबमा परेका छन् । यससँगै माउरिन्होको ओल्ड ट्राफोर्ड बसाइसमेत अन्योलमा परेको खबर सार्वजनिक भएको थियो।

सोमबार टोटेनह्यामसँग ३–० ले पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै माउरिन्होले आफूले रियाल मड्रिड, इन्टर मिलान र चेल्सीमा हात पारेको सफलताका कारण आफूलाई सम्मान गर्न माग गरेका थिए । बार्सिलोनाको प्रशिक्षण सम्हाल्दा ग्वार्डिओला र माउरिन्होबीच बारम्बार वाक्युद्ध चलेको थियो।

‘माउरिन्हो सफल प्रशिक्षक हुन् । उनले विगतमा विभिन्न शीर्ष क्लबलाई दिलाएको सफलताले त्यसलाई प्रमाणित गर्छ,’ ग्वार्डिओलाले भने, ‘यसमा कुनै दुबिधा छैन । एउटा प्रशिक्षकलाई निरन्तर सफलता चुम्न राम्रो खेलाडी र क्लबका साथै धैर्यता पनि आवश्यक छ।’

‘अंकतालिकामा हाम्रो स्थानले हाम्रो मूल्याङ्कन गर्छ । कुनै पनि प्रशिक्षक हारेको हेर्न चाहँदैन,’ ग्वार्डिओलाले थपे, ‘तर सिजनको सुरुआतमै खेलेका एक–दुई खेलको नतिजामा कुनै पनि प्रशिक्षकको क्षमतामा प्रश्न उठाउन मिल्दैन ।’ क्लबका खेलाडीलाई हाम्रो क्षमता राम्रोसँग थाहा छ । सामान्यतया खेलाडीले राम्रो प्रदर्शन गर्दै सुखद नतिजा ल्याएमा प्रशिक्षकलाई राम्रो सोचिन्छ, अन्यथा प्रशिक्षकको क्षमतामा प्रश्न उठ्ने गर्दछ।’

प्रकाशित: १७ भाद्र २०७५ ०४:५३ आइतबार

म्यानचेस्टर_सिटी_प्रशिक्षक म्यानचेस्टर_युनाइटेड_प्रशिक्षक प्रिमियर_लिग