खेल

एसिया कप छनोटः सिंगापुरद्वारा नेपालसामु १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं – मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनाएको हो।

नेपाली बलरसामु कमजोर देखिएको सिंगापुरका लागि कप्तान चेतन सुर्यवन्सीले सर्वाधिक ६० रन बनाए। उनले ८८ बलमा ८ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अनिश परामले ३१ र कार्तिकेयान सुब्रमनियनले २० रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। सिंगापुरलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले ३–३, सोमपाल कामीले २ तथा बसन्त रेग्मीले १ विकेट लिए।  

यसअघि खेलेका तीनमध्ये २ खेलमा हार र १ खेलमा जित निकालेको नेपाल अंकतालिकाको पाँचौ स्थानमा छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो भने हिजो भएको तेस्रो खेलमा भने आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो।

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्। 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ भाद्र २०७५ ०४:२९ आइतबार

एसिया_कप_छनोट_क्रिकेट नेपाल_सिंगापुर