खेल

एशिया कप छनोट : नेपालले भोलि मलेसियासँग खेल्ने

काठमाडौं- एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेसियासँग खेल्दैछ। 

जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ। नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ। दुई खेल खेलको मलेसियाले दुई अङ्क जोडेको छ। मलेसियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो। 

प्रतियोगितामा ६ राष्ट्र सहभागी छन्। युएई चार अङ्कसहित शीर्षस्थानमा छ। युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो। ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ। एक/एक खेलमा विजयी हङ्कङ र मलेसिया दुई/दुई अङ्कका साथ क्रमश: तेस्रो र चौथो स्थानमा छन्। नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ। 

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ। ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ। 

छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। विजेता टोली एशिया कपमा सहभागी हुन पाउनेछ। एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ। 

प्रकाशित: १५ भाद्र २०७५ ०९:४० शुक्रबार

क्रिकेट एशिया_कप नेपाल मलेसिया