खेल

१८ अाैं एसियाड : जुडोमा नेपालकाे निराशाजनक प्रदर्शन

काठमाडौं -इण्डाेनेसियामा जारी एसियाली खेलकूद (एसियाड) अन्तर्गत आज भएको जुडोमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ। विहीबार भएको खेलमा दक्षिण एसियाली खेलकूद (साग) की स्वर्ण पदक धारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन्। त्यस्तै मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पनि पराजित भए। खत्री आयोजक इण्डोनेसियाकी खेलाडीसँग १–० ले पराजित भएकी हुन्। मनिता राउण्ड अफ ३२ को खेलमा भियतनामकी खेलाडीसँग १०–१ ले पराजित भइन्।

पुरुष ७३ केजी मुनिको राउन्ड अफ ३२ को खेलमा नेपालका सञ्जीत डङ्गोल साउदी अरबका खेलाडीसँग १०–० ले पराजित भए। बुधबार पहिलो दिन इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए। 

भलिबलमा पराजित
प्रतियोगिता अन्तर्गत विहीबारै भएको भलिबलमा नेपाल श्रीलङ्कासँग ३–१ ले पराजित भएको छ। नेपालले खेलकाे पहिलो सेट २५–२३ ले जिते पनि त्यसपछि श्रीलङ्कासँग लगातार २५– १६, २६–२४ र २५–२१ को सेटमा पराजित भयो । 

प्रकाशित: १४ भाद्र २०७५ १३:३९ बिहीबार

एसियाड जुडाे भलिबल