खेल

एसियाडमा रजत जिताउने योगेश भन्छन् : यो सबै नेपालीको जीत हो

काठमाडौं- १८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले त्यसो हुनबाट बचाएको छ। प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम गरेको छ। सन् १९९८ मा सविता राजभण्डारीले बैकक एसियाडमा तेकवान्दो तर्फ नेपालको नाममा रजत पदकमा सुरक्षित गरेकी थिइन्। त्यसपछि यो पदक नेपालको हातमा आएको हो।

'१९९८ पछि हामीले एसियाडमा इतिहास रचेका छौं', नेपाली प्याराग्लाइडिङ टोलीका प्रशिक्षक योगेश भट्टराईले नागरिकन्यूजसँग भने, 'यो हामी नेपालीको गर्वको विषय हो।' उनले यो ऐतिहाँसिक जीत भएको बताए। १० देशका ५० प्रतिस्पर्धिलाई उछिन्दै नेपालले दोस्रो स्थान हात पारेको हो। झिनो अन्तरले पहिलो स्थान जापानले प्राप्त गरेको छ। 'एकदमै खुशी लागेको छ', प्रशिक्षक भट्टराईले भने, 'पर्यटन विकासमा यो पदकले थप उर्जा दिने छ।' जापानले नेपाललाई २७ अंकले पछि पारेको थियो।

मौसमका कारण पनि केही समस्या भएको उनले बताए। 'विहानैदेखि मौसम राम्रो थिएन', उनले भने, 'यसले पनि हाम्रा खेलाडीले प्रयास गर्दा गर्दै पनि पहिलो हुन सकेनौं।' नेपालको तर्फबाट विमल अधिकारी, विशाल थापा, विजय गौतम, युगेस गुरुङ र सुशील गुरुङ प्रतिस्पर्धामा सहभागि थिए।  

'हामी गोल्ड मेडलको तयारीका साथ आएका थियौं', भट्टराईले भने, 'मौसमका कारण केही अप्ठेरो भयो।' नेपाल र इन्डोनेसियाको हावा, मौसम र थर्मलका कारण केही टेक्निकल समस्या भएको उनले बताए। उनले यो जीतको श्रेय सबै नेपालीलाई जने बताए। उनले भने, 'यो जीत सबै नेपालीको हो।'

झण्डै दुई दशक अघि पोखरामा साहसिक खेलको रुपमा प्याराग्लाईडिङ पोखरामा भित्रिएको थियो।

 

 

प्रकाशित: १३ भाद्र २०७५ १४:१३ बुधबार

प्याराग्लाइडिङ नेपाल रजत_पदक एसियाडm