खेल

डियाजलाई फर्काउने रियालको तयारी

मड्रिड – रियाल मड्रिडले पूर्वस्ट्राइकर मारियानो डियाजलाई क्लबका फर्काउने तयारी थालेको छ । स्पेनिस ला लिगाको प्रतिद्वन्द्वी सेभियाले उनलाई भित्र्याउन खोजेको खवर सार्वजनिक भएपछि एक वर्षअघि आफैंले लियोनमा बेचेका डियाज फर्काउने अभियानमा रियाल लागेको हो। 

‘रियालले आफै फिर्ता ल्याउन सक्ने सर्त लागू गर्ने बताएको छ,’ सेभियाका अध्यक्ष जोजे क्यास्ट्रोले सञ्चारमाध्यमहरूसँग भने । स्पेनिस खेलकुद दैनिक मार्काले जनाएअनुसार सेभियाले डियाजका लागि ३ करोड ५० लाख युरोको प्रस्ताव गरेको थियो । तर रियालले त्यही प्रस्ताव स्विकार्दै २५ वर्षे खेलाडी फिर्ता ल्याउन खोजेको हो।  

स्पेनमा जन्मिएका डोमिनिकन गणतन्त्र मूलका खेलाडी डियाजलाई रियालले एक वर्षअघि लियोनमा बेचेको थियो । तर रियालले आफैं किनेर उनलाई फिर्ता ल्याउन पाउने सर्तअनुसार डियाजलाई ल्याउँदा फेरि बेच्दा हुने नाफाको ३५ प्रतिशत लियोनलाई दिन सहमति जनाएको छ । जसअनुसार रियालले अहिले उनलाई खरिद गर्दा तोकिएको मूल्यभन्दा कम २ करोड ५० लाख युरो मात्र तिरे पुग्छ।

सेभियाका खेलाडी एन्टोनियो पुएर्टाको मृत्यु भएको ११ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा क्यास्ट्रोले थपे, ‘लियोनको रियालसँग सम्झौता थियो । हामीले धेरै प्रयास गर्याैं । त्यसपछि पनि रियालसँग आफ्नो अधिकार प्रयोगका लागि ४८ घण्टाको समय थियो । उनीहरूले डियाजलाई सान्टियागो बेर्नाबेउ फर्काउने निर्णय गरे । हामी अहिले अन्य विकल्पमा सोचिरहेका छौं।’

लियोन सरुवाअघि रियालको बेन्चमा रहेका डियाजले स्पेनिस महारथीका लागि पहिलो रोजाइबाट १४ खेल मात्र खेलेका थिए । तर लियोनमा गएपछि गत सिजन फ्रेन्च लिग वानमा उनले १८ गोल गरे । उनकै प्रदर्शनप्रेरित लियोन च्याम्पियन्स लिगका लागि समेत छनोट भएको थियो।

तर गत सप्ताहान्तमा लियोनले उनलाई पहिलो रोजाइबाट हटाएको थियो । जसबाट पनि क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि आक्रमणमा समस्या भोगिरहेको रियालमा डियाज फर्किने संकेत मिलेको थियो। 

 

प्रकाशित: १३ भाद्र २०७५ ००:१६ बुधबार

रियाल_मड्रिड मारियानो_डियाज लियोन