खेल

एसिया कप छनोटः नेपाल ओमानसँग भिड्दै, भारतसँग खेल्ने लक्ष्य

एसिया कप छनोट खेलमा सहभागी देशका कप्तान कपका साथ । तस्बिर सौजन्यः रमन शिवाकोटी

काठमाडौं – भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमानविरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दै छ। 

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो । श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्। 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आफ्ना खेलाडीहरू भारत र पाकिस्तानविरुद्ध खेल्न आतुर भएको बताएका थिए। 

नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आफ्ना खेलाडीहरू भारत र पाकिस्तानविरुद्ध खेल्न आतुर भएको बताएका थिए। 

मलेसियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सागर पुन र विनोद भण्डारीलाई ८ महिनापछि समेट्दै नेपालले छनोट प्रतियोगिताका लागि टोली बनाएको छ । सागर र विनोदले पछिल्लो पकट विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेलेका थिए।

बुधबार ओमनविरुद्ध खेल्ने नेपालले बिहीबार युएईविरुद्ध खेल्नेछ । लिग चरणमा नेपालले शनिबार आयोजक मलेसिया र आइतबार सिंगापुरविरुद्ध खेल्नेछ । लिग चरणको अन्तिम खेल नेपालले मंगलबार हङकङविरुद्ध खेल्नेछ।

आैंलामा चोट लागेका कारण मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर टोलीमा छैनन् भने नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलपछि शक्ति गौचनले संन्यास लिएका कारण उनी पनि टोलीमा छैनन्। 

 

प्रकाशित: १३ भाद्र २०७५ ००:३७ बुधबार

एसिया_कप_छनोट भारतसँग_खेल्ने_लक्ष्य मलेसिया अाेमानसँग_भिड्दै