खेल

प्याराग्लाइडिङमा पदक आशा बढ्यो

पोखरा – चारमध्ये तीन जना पाइलटले टास्क पूरा गरेपछि प्याराग्लाइडिङमा पदकको आशा बढेर गएको छ । चौथो राउन्डको नतिजाले नेपाल दोस्रो स्थानमा उक्लिएपछि पदकको सम्भावना बढेकोे छ। 

मंगलबारको ३१ किलोमिटरको टास्क विमल अधिकारी, सुशील गुरुङ र युकेश गुरुङले पूरा गर्दै महत्वपूर्ण अंक जोडेपछि चौथो दिनको समाप्तिमा कुल ८५९१ अंक जोड्दै नेपाल दोस्रो स्थानमा उक्लिएको हो । दोस्रो दिन खराब मौसमले टास्क पूरा गर्न नसक्दा कमजोर देखिँदै गएको नेपाली टोलीले तेस्रो र चौथो राउन्डमा भने उत्कृष्ट प्रदर्शन दोहोर्यायो । अन्तिम दिन बुधबारको टास्कले पदकको टुंगो लाग्नेछ । चौथो दिनको टास्क पूरा गर्दा नेपालले २७९८ अंक जोड्यो । समग्रमा दोस्रो स्थानमा रहँदै १८औं एसियाडमा पदकको सम्भावना बढेको प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराईले बताए। 

प्रशिक्षक भट्टराईका अनुसार इन्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा चौथो दिन नेपाली टोलीका कप्तान विमल अधिकारीले ८६१, विशाल थापाले ८७०, युकेश गुरुङले ८०२ र सुशील गुरुङले २६५ अंक जोडे । ‘सबै खालि हात फर्केका छन्,’ अफिसियल सानोबाबु सुनुवारले भने, ‘प्याराग्लाइडिङले क्रसकन्ट्रीमा पदक ल्याउने सम्भावना छ।’ 

प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा भने चौथो राउन्डको समाप्तिसम्म आइपुग्दा जापान शीर्ष स्थानमै रहेको छ । चौथो दिनको ३१ किलोमिटर टास्कमा समेत ३२९८ अंक जोड्दै अग्रतालाई अझ फराकिलो बनाएको छ । दोस्रो स्थानमा रहेको नेपालभन्दा झन्डै ८ सय अंक बढी छ । कोरिया तेस्रो स्थानमा छ । कोरियाले मंगलबारको चौथो राउन्डमा २१९२ अंक जोड्यो । समग्रमा ८ हजार अंक छ । कोरियाको  नेपालभन्दा ५९१ नम्बर कम छ । यसले पदकको सम्भावनलाई जीवितै राखेको छ । आयोजक इन्डोनेसिया भने चौथो दिन खराब प्रदर्शन गर्दा चौथो स्थानमा झर्न पुगेको छ । चौथो राउन्डमा १२७२ अंक जोडेको इन्डोनेसिया पदकको आशा कमजोर बन्दै गएको छ। 

इन्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसै गरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन्।

प्रकाशित: १२ भाद्र २०७५ २३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App