खेल

अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

फाइल तस्विर

काठमाडाैं - आगामी भाद्र १३ गतेदेखि मलेसियामा हुने एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारी स्वरुप श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो तथा अन्तिम अभ्यास खेलमा समेत जित हात पारेको छ। अाज भएकाे  अन्तिम अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सम्पुर्ण अभ्यास खेलहरु आफ्नो पक्षमा पारेको हो। 

कोल्ट्स क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले नेपाललाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको थियो। नेपालले उक्त लक्ष्य ४२ दशमलव ४ ओभरमा पुरा गर्यो। नेपाललाई जित दिलाउने क्रममा नेपालका तर्फबाट कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले। पारसले ५७ बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ५८ रन जोडे। यस्तै ऐरीले अविजीत रहदै ५२ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ आरिफ सेखले २३ तथा सुवास खकुरेलले २२ रन जोडे। यस्तै सागर पुन ५ तथा विनोद भण्डारी १ रनमा आउट भए।कोल्ट्सका लागि सिरी वर्दनेले २ तथा मदुरा लक्मल, लक्क्षण जयसिङ्गे र हसन हेवानायकेले समान १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९ दशमलव ५ ओभरमा सम्पुर्ण विकेट गुमाउदै २ सय १६ रन जोडेको थियो। कोल्ट्सका लागि हसन हेवानायकेले सर्वाधिक ५९ रन बनाएका थिए। कोल्ट्सलाई २ सय १६ रनको स्कोरमा रोक्ने क्रममा नेपालका सोमपाल कामीले सर्वाधिक ३ तथा सागर पुन तथा करन केसीले समान २/२ विकेट लिए। यस्तै ललित राजबंशीले एक विकेट लिए। 

यसअघि खेलेका अभ्यास खेलमा नेपालले आर्मी क्रिकेट क्लबलाई ६७ रन तथा दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस नियमका आधारमा १७६ रनले पराजित गरेको थियो।

नेपाली क्रिकेट टोली श्रीलंकाबाटै सोमबार मलेसिया प्रस्थान गर्नेछ। एसिया कपको छनोटमा नेपालले आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ। नेपालले पहिलो खेल भाद्र १३ अर्थात अगस्ट २९ मा ओमानसँग खेल्नेछ।

 

प्रकाशित: १० भाद्र २०७५ १३:४४ आइतबार

नेपाली_क्रिकेट अभ्यास_खेल काेल्ट्स_क्रिकेट_क्लब