खेल

तेस्रो खेलमै सिटीलाई धक्का

सिजनको तेस्रो खेलमै अंक बाँडनुपरेपछि सिटीका निराश प्रशिक्षक पेप ग्वार्डिओला । तस्बिरः एपी

लन्डन – उपाधि रक्षा गर्ने अभियानमा रहेको पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले शनिबार इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो पटक अंक गुमाएको छ। 

रक्षक यमेरिक लापोर्टेले खेल सकिन २० मिनेट बाँकी छँदा गरेको गोलमा साबिक विजेता म्यानचेस्टर सिटीले नवप्रवेशी टोली उल्भरनह्याम्टन वान्डेरर्ससँगको हार टार्न सफल भयो । उल्भरह्याम्टनले विले बोलीले ५७औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। 

सिजनको पहिलो खेलमा आर्सनललाई २–० तथा दोस्रो खेलमा हडर्सफिल्डलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको सिटी शनिबार अंक बाँड्न बाध्य भएको छ । ‘पछिल्लो खेलमा जस्तै हामी यहाँ जित्न आएका थियौं तर दुई अंक गुमाउन पुग्यौं,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘तीन खेल मात्र सकिँदा गुमाएको अंकले धेरै फरक पर्दैन । अझै लामो यात्रा तय गर्नु छ । हामीले गोलका लागि धेरै अवसर सिर्जना गर्याैं तर त्यसलाई सदुपयोग गर्न सकेनौं । यद्यपि यसबाट म धेरै निराश छैन । बेलाबेला लय गुमाए पनि खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु।’

‘तीन खेल मात्र सकिँदा गुमाएको अंकले धेरै फरक पर्दैन । अझै लामो यात्रा तय गर्नु छ।’

चोटका कारण मिडफिल्डर केभिन डी ब्रुयनाबिना मैदान उत्रिएको सिटीका सर्जियो अग्विरो र रहिम स्टर्लिङले गोलका अवसर सदुपयोग गर्न सकेनन् । लिग सुरु हुनुअघि चेल्सीलाई २–० ले हराउँदै कम्युनिटी सिल्डको उपाधि उचालेको सिटीले तीन खेलबाट ७ अंक जोडेको छ । तीन खेलमध्ये दुईमा बराबरी र एकमा पराजय भोगेको उल्भरह्याम्पटन २ अंकका साथ १२ औं स्थानमा छ। 

घरेलु टोलीका बोलीले ६९औं मिनेटमा गरेको गोल विवादित बनेको थियो । उनको गोल अफसाइड र ह्यान्डबल भएको भन्दै विवाद भएको थियो । विवादमा रेफ्रीले सिटीका डेभिड सिल्भालाई पहेंलो कार्डको दर्शन गराएका थिए । सिटीका प्रशिक्षक ग्वार्डिओलाले त्यस विवादबारे आफूलाई केही थाहा नभएको बताए । उनले भने ‘मैले केही देखिनँ । म रेफ्री होइन र यसबारे केही बोल्दिनँ।’

यसअघि दुई खेल खेलेको उल्भरह्याम्टनले लिगको आफ्नो पहिलो खेलमा एभर्टनसँग २–२ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा लेस्टरसँग २–० ले पराजित भएको थियो । ‘आजको खेल राम्रो भयो । तर गोल खाएपछि हामीलाई केही मिनेट दबाब झेल्नुपर्याे,’ उल्भरह्याम्टनका प्रशिक्षक नुनो इसप्रिटो सान्टोले भने, ‘सुधार हुँदै छ । अर्को साता पनि यसले निरन्तरता पाउनुपर्छ।’

प्रकाशित: १० भाद्र २०७५ ०५:०२ आइतबार

पेप_ग्वार्डिओला म्यानचेस्टर_सिटी प्रिमियर_लिग