खेल

पहिलो दिन नेपाल तेस्रो स्थानमा

पोखरा – प्याराग्लाइडिङमा पदकको आशा गरिएको विधा क्रस कन्ट्रीमा नेपाली टोली पहिलो दिनको ३१ किलोमिटरको टास्क पूरा गर्दै तेस्रो स्थानमा रहेको छ । नेपालले २२५५ अंकसहित तेस्रो स्थानमा रहँदा पदकको आशालाई भने जीवितै राखेको छ। 

पुरुष क्रसकन्ट्रीतर्फ आयोजक इन्डोनेसियाले ३१ किलोमिटरको दूरीमा राखिएका आठवटा प्वाइन्टको टास्क पूरा गर्ने क्रममा २९१७ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा कोरिया छ । कोरियाले २५०० अंक जोड्यो । जापान भने २०२४ अंकसहित चौथो स्थानमा छ। 

महिलातर्फ भने नेपाली टिम चौथो स्थानमा छ । पहिलो राउन्ड सकिँदा नेपालले २८५ अंक मात्रै जोडेको छ । कोरियाले १०३६ अंकसहित शीर्ष स्थानमा रहँदा जापान ६४४ अंकसहित दोस्रो र आयोजक इन्डोनेसिया भने ४७९ अंकसहित तेस्रो स्थानमा छ। 

पाँच खेलाडीले मात्रै शनिबारको टास्क पूरा गरेका थिए । जसमध्ये युकेश गुरुङले मात्रै टास्क पूरा गरेको प्याराग्लाइडिङका अफिसियल शैलेन रावतले जानकारी दिए । उनका अनुसार युकेशले ३१ किलोमिटरको टास्क पूरा गर्दा अन्य नेपाली खेलाडीले भने केवल १४ किलोमिटर दूरीको टास्क मात्रै पूरा गरे । टास्क प्रत्येक खेलाडीले पूरा गर्नुपर्छ । जसले धेरै प्वाइन्ट राखिएको टास्क पूरा गर्छ, उसैले जित्छ। 

‘बिहानको मौसम खराब थियो । त्यसैले युकेशबाहेक अन्यले टास्क पूरा गर्न सकेनन् ।’ उनले भने– ‘तर पनि अझै चार राउन्ड बाँकी छ । लेट्स होप फर मेडल ।’ मौसमले साथ नदिएको भए पनि खेलाडीले राम्रो प्रदर्शन गर्दै तेस्रो स्थानमा आएकोप्रति अफिसियल रावतले भने खुसी व्यक्त गरे। 

इन्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसै गरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्नेछन् । पाँचाैं राउन्डमा फाइनल हुन्छ । प्रत्येक दिन टास्क भने फरकफरक हुन्छ।

प्रकाशित: १० भाद्र २०७५ ०४:३४ आइतबार

प्याराग्लाइडिङ क्रस_कन्ट्री इन्डोनेसिया