खेल

सारावियाको गोलमा सेभिया विजयी

लन्डन - पाब्लो सारावियाले गरेको निर्णायक गोलको मद्दतमा पाँच पटकको युरोपा लिग विजेता सेभियाले बिहीबार प्रतियोगिता अन्तर्गत प्लेअफ पहिलो लेगमा सिग्मा ओलोमोउसमाथि १–० को जित हात पारेको छ। 

खेल सकिन ६ मिनेट बाँकी हुँदा सारावियाले गरेको गोल सेभियाको जितमा पर्याप्त बन्यो। यस्तै प्लेअफअन्तर्गत  बिहीबार नै भएका अन्य खेलमा रेन्जर्सले एफसी युफविरुद्ध विजयी नतिजा हात पार्दा ओलम्पियाकोसलाई ३–१ को नतिजा सुम्पिएपछि बर्नलीको ५१ वर्षपछि युरोपा लिगको समूहचरण प्रवेश गर्ने लक्ष्य भने कमजोर बनेको छ।

इङ्लिस प्रिमियर क्लबमा समेत सुखद सुरुआत गर्न नसकेको बर्नलीका रक्षक बेन गिब्सन दोस्रो हाफमा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिनु महँगो साबित भयो। गिब्सन ५९औं मिनेटमा दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बनर्लीले बाँकी खेल १० खेलाडीमा सीमित हुँदै अन्त्य गरेको थियो। १९औं मिनेटमा कोस्टास फर्टुनिसको गोलमा ओलम्पियाकोसले अग्रता लिएको थियो। ३३औं मिनेटमा क्रिस उडले गरेको गोलमा बर्नली खेलमा फर्किएको थियो।

४८औं मिनेटमा आन्द्रियास बौचालाकिसले गोल गर्दै ओलम्पियाकोसलाई अग्रता दिलाएका थिए। गिब्सनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ओलम्पियाकोसले पेनाल्टीको अवसर पाएको थियो।

यस्तै सेल्टिकले एफके सदुभासँग १–१ को बराबरी खेल्यो। खेलको तेस्रो मिनेटमा ओलिभर न्याचमले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए। तर सेल्टिकको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै सदुभाले त्यसको १० मिनेटपछि नै खेल बराबरीमा ल्याएको थियो।

‘हामीले उनीहरूलाई सहज गोल उपहार दियौं,’ सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजरले भने, ‘खेलको सुरुआतमै अग्रता लिए पनि कमजोर रक्षापंक्तिका कारण हामीले त्यसको १० मिनेटपछि नै गोल खायाैं। पहिलो लेगमा अग्रताका साथ दोस्रो लेगमा मैदान प्रवेश गर्दा टोली माथि रहने थियो।’

बिहीबारै भएको अर्को खेलमा जेनिट सेन्ट पिट्सबर्गले मोल्डेमाथि ३–१ को जित हात पार्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको छ। १–० ले पछि परेको जेनिटले खेलको अन्तिम २० मिनेटमा ३ गोल फर्काउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो।

प्रकाशित: ९ भाद्र २०७५ ०२:२० शनिबार

युरोपा_लिग सेभिया सिग्मा_ओलोमोउस