खेल

क्लब छोड्ने मनस्थितिमा लेवान्डोवस्की

बर्लिन – बायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोवस्कीले तीन महिनाअघि नै बुन्डेसलिगा छोड्ने मनस्थितिमा पुगेको खुलासा गरेका छन्। 

‘मैले क्लब छोड्ने मनस्थितिमा पुगेको संकेत गरेसँगै क्लब व्यवस्थापन, प्रशिक्षक र टोली सहयात्री मबाट टाढिए,’ लेवान्डोवस्कीले भने, ‘केही महत्वपूर्ण खेलमा मैले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै क्लबमा मेराविरुद्ध षड्यन्त्र भए पनि क्लब व्यवस्थापनले मेरो बचाउ गरेन।’

लेवान्डोवस्कीले यसै सिजनको सुरुआतमा क्लब छोड्ने चर्चा चलेसँगै क्लबले उनलाई नबेच्ने अडान लिएको थियो । लेवान्डोवस्कीले क्लब छोड्ने इच्छा पहिलो पटक सार्वजनिक गरेका हुन् । तर क्लबका अधिकारीहरूले भने लेवान्डोवस्कीको बायर्नसँगको सम्झौता २०२१ सम्म भएकाले उनले तत्काल क्लब छोड्ने कुनै सम्भावना नरहेको बताउँदै आएका छन्।

बायर्नमा ४ सिजनमा लेवान्डोवस्कीले आठ पटक बुन्डेसलिगाको उपाधि जितेका छन् । तर गत मे र अप्रिलमा च्याम्पियन्स लिगअन्तर्गत सेभियाविरुद्धको क्वार्टरफाइनल र रियाल मड्रिडविरुद्धको सेमिफाइनलमा गोल गर्न नसकेको भन्दै उनको चर्को आलोचना भएको थियो।

लेवान्डोवस्की गत सिजन ३० खेलमा २९ गोल गर्र्दै बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता बनेका थिए । मेमा लेवान्डोवस्कीका एजेन्ट पिन जाहाभीले क्लब छाड्ने मनसाय सुनाएपछि क्लब आश्र्चयमा परेको थियो । साबिक विजेता बायर्नले शुक्रबारबाट सुरु हुने बुन्डेसलिगाको पहिलो खेलमा होफेनहेइमको सामना गर्दै छ।

प्रकाशित: ८ भाद्र २०७५ ०४:२२ शुक्रबार

बायर्न_म्युनिख रोबर्टो_लेवान्डोवस्की बुन्डेसलिगा