खेल

अमेरिकामा लिग खेलाउने निर्णयको विरोध

मड्रिड – पैसा र व्यापारका लागि ला लिगाका केही खेल अमेरिकामा खेलाउन लागेको भन्दै बुधबार स्पेनको फुटबलर युनियन (एएफइ)ले आयोजकलाई निर्णय सच्याउन चेतावनी दिएको छ। 

‘हामी ला लिगाको यो एकल निर्णयबाट थाकिसकेका छौं, किनभने यो निर्णयले स्पेनभन्दा बाहिर गएर खेल खेल्दा खेलाडीको खेललाई असर पर्छ,’ रियाल मड्रिडका सर्जियो रामोस र बार्सिलोनाका सर्जियो बुस्केट सम्मिलित बैठकपछि एएफईका अध्यक्ष डेबिड अगान्जोले भने। 

यसअघि बिहीबार ला लिगाले आफ्नो लिगको प्रचारप्रसारका लागि भन्दै उत्तर अमेरिकी सहरमा केही खेलाउने जनाएको थियो । यद्यपि अमेरिकामा कुनकुन टोलीले कुन स्थानमा खेल्ने भनेर ला लिगाले खुलासा गरेको छैन । तर अमेरिकाका केही सञ्चारमाध्यमले भने रियाल मड्रिड या बार्सिलोनाका खेल खेलाउने तयारी भइरहेको बताएका छन्।

बुधबार एएफईका अध्यक्ष अगान्जोले आफ्नो युनियनले यसै विषयलाई लिएर सेम्टेम्बरमा ला लिगाका प्रमुखसँग भेट्ने योजना बनाएको र उक्त भेटमा निर्णय सच्याउन आग्रह गर्ने बताए । यदि उक्त भेट फलदायी हुन नसके सेम्टेम्बरको अन्तिम अथवा अक्टोबरको सुरुआतमा विरोधका कार्यक्रम गर्ने अध्यक्ष अगान्जोले बताए। 

‘ला लिगा आयोजकले फुटबललाई पैसा र व्यापारसँग मात्र तुलना गरेजस्तो लाग्यो,’ आगान्जोले भने, ‘ला लिगाको आयोजकले खेलाडीको स्वस्थ्य र खेलाडीमाथि जोखिम मोलेको छ ।’ यस्तै ‘द नेसनल स्पोटर्स फेडेरेसन’ (एफएएसएफई) ले पनि अमेरिकामा आयोजना गर्न लागिएको खेल ला लिगाको महत्वलाई गिराउने षड्यन्त्रको संज्ञा दिएको छ।

ला लिगाले २०१६–१७ को सिजनमा ३ अर्ब ६० करोड युरो आमदामी गरेको थियो । जसमा ४० प्रतिशत टेलिभिजन अधिकारबापत नै प्राप्त गरेको थियो भने करसहित २३ करोड ४० लाख युरो मुनाफा आर्जन गरेको थियो।  

 

प्रकाशित: ८ भाद्र २०७५ ०४:०९ शुक्रबार

ला_लिगा एएफइ अमेरिका डेबिड_अगान्जो