खेल

रोनाल्डो, सलाह र मोड्रिच उत्कृष्ट ३ खेलाडीको मनोनयनमा

काठमाडौं – युरोपियन फुटबल महासंघ (युइएफए) ले वर्षको उत्कृष्ट ३ खेलाडीको सुची सार्वजनिक गरेको छ। युइएफएले सोमबार राति सार्वजनिक गरेको सुचीमा रियल मड्रिडका पूर्व स्टार तथा अहिलेका युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो, लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले उत्कृष्ट ३ मा स्थान बनाएका हुन्।

यो अवार्ड च्याम्पियन्स लिगको ड्र का बेला प्रदान गरिनेछ। युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा ३ खेलाडीको सुची सार्वजनिक गरिएको हो। गत वर्ष यो अवार्ड रोनाल्डोले जितेका थिए। उनले अहिलेसम्म ३ पटक यो अवार्ड जितिसकेका छन्।

रोनाल्डोले गएको वर्ष रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए। रोनाल्डो अहिले रियल छाडेर इटालियन क्लब युभेन्टमा छन्। विश्वकप फुटबलमा पनि रोनाल्डोले ४ गोल गरेका थिए। यद्यपी उनको राष्ट्र पोर्चुगल भने प्रि क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

यता लुका मोड्रिचले आफ्नो राष्ट्र क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। उनी रुस विश्वकपको उत्कृष्ट खेलाडी पनि हुन्। मोड्रिच रियल मड्रिडका नियमित खेलाडी हुन्। उनले रियलका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्।

यस्तै मोहम्मद सलाहले गएको सिजन प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए। तर फाइनलमा भने लिभरपुल रियलसँग पराजित भएको थियो। उत्कृष्ट ३ मा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले भने स्थान बनाउन सकेनन्। मेस्सी पाँचौं स्थानमा चित्त बुझाउन बाध्य भए।

 

प्रकाशित: ५ भाद्र २०७५ ०५:१० मंगलबार

युइएफए उत्कृष्ट_३_खेलाडी