खेल

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

जकार्ता - एसियाली खेलकुदमा नेपालले पदक जित्ने आशा कमै गरेको हुन्छ । मार्सल आटसमा केही कांस्य पदक प्राप्त हुने आशामा सहभागिताको झटारो हान्नु अहिलेसम्म महादेशीय खेलकुदको कुम्भमेलामा नेपालको नियति हो।

यति निम्छरो नियति बोकेको नेपालले -याकेट्स खेलमा त झनै कमजोर मानसिकताका साथ कोर्ट उत्रिने गरेको छ। टाई सिट अनुकूल भएर एक–दुई खेलमा जित हासिल गरे त्यही बोनस हुनु नेपालको यसअघिको सत्य थियो। तर आइतबार नेपाली पुरुष टोलीले नयाँ सत्य स्थापित गरेको छ । आफूमाथि सधै हाबी हुँदै आएको पाकिस्तानलाई हराएर नेपाली ब्याड्मिन्टनको छवि ‘ह्विपिङ ब्वाइज’ बाट ‘विनर्स ब्वाइज’ मा परिणत गरेको छ।

अन्तर्राष्ट्रिय ब्याड्मिन्टनमा पाकिस्तान सधंै नेपालमाथि हाबी रहने गरेको थियो । दुई वर्षअघि भारतको सिलोङ र गुवाहटीमा सम्पन्न १२औं सागमा पनि पाकिस्तानी पुरुष टोलीले नेपाललाई टिम इभेन्ट्समा ३–२ को नतिजामा हराएको थियो । पुरुष टोलीले यसपालि दक्षिण एसियाली प्रतिद्वन्द्वीसँग त्यो र त्यसअघि पनि भोगेका थुप्रै हारको बदला लिएको छ, ३–१ को सहज नतिजामा हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेर।

जकार्ता स्पोर्टस कम्प्लेक्सस्थित ब्याड्मिन्टन कभर्डहलमा पुरुष टिम इभेन्ट्सअन्तर्गत आइतबार नेपालको जितमा एकलतर्फ रत्नजित तामाङ र दीपेश धामीले जित हासिल गरे भने युगलमा दीपेश र रत्नजितको जोडीले जित दर्ता गरेपछि पाँचौं सेटसम्म कुर्नुपरेन । एकलअन्तर्गत पहिलो खेलमा रत्नजितले पाकिस्तानका मोहम्मद इरफान सइद बातीलाई २१–१२, २१–११ को सोझो सेटमा पराजित गरे । दोस्रो खेलमा दीपेशले पनि विजयी अभियानलाई निरन्तरता दिने क्रममा अजिम सरवारमाथि २१–१६, २१–१० को रबाफ जमाएपछि नेपालले २–० को समग्र अग्रता लियो । एकलअन्तर्गत तेस्रो खेलमा नवीन श्रेष्ठ तेस्रो सेटमा चुक्दा निराश भए । तीन सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा उनलाई अजाम रिजवानले २१–१३, १८–२१, १५–२१ को सेटमा पराजित गरेका थिए।

एकलबाट २–१ को अग्रता लिन सफल नेपाललाई युगलमा रत्नजित र दीपेशले आजम रिजवान र सुलेरी काहिफ अलीको जोडीलाई २१–१७, १७–२१, २१–५ को सेटमा पराजित गर्दै पाकिस्तानमाथि महत्वपूर्ण जित दिलाए । युगलमा नेपालले पाकिस्तानमाथि जित हासिल गरेको यो पहिलो खेल थियो । रत्नजित र दीपेशको जोडीले जित हासिल गरेपछि नेपालले पाँचौं खेलका लागि विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीलाई कोर्ट उतार्नै परेन।

आइतबारै सम्पन्न महिला टिम इभेन्ट्समा भने नेपाली टोलीले माल्दिभ्सलाई ३–२ को नतिजा सुम्पियो । पहिलो दुई खेलमा जित हासिल गरे पनि त्यसपछि सम्हालिन नसक्दा नेपालले क्वार्टरफाइनल प्रवेशको अवसर चुकाएको थियो । पहिलो खेलमा नङ्सल तामाङले अब्दुल रजाक फतिमाथ नाबाहालाई २१–१७, २१–१५ को नतिजामा हराएर नेपालको सुरुआत सुखद पारेकी थिइन् । जेसिका गुरुङले दोस्रो खेलमा अब्दुल  रजाक अमिनाथ नाबाहामाथि १५–२१, २५–२३, २१–१७ को प्रतिस्पर्धात्मक नतिजामा जित हासिल गर्दै नेपालको अग्रता २–० मा पु-याइन् । तर तेस्रो खेलमा रसिला महर्जन नाजिब निलासँग २२–२४, २१–१५, २१–१६ को नतिजामा निराश भएपछि माल्दिभ्सले  पुनरागमनको आधार बनायो।

युगलमा भने नेपालले दुवै खेल गुमायो । पहिलो खेलमा जेसिका र नङ्सलको जोडी अमिनाथ नबिहा र नाजिब निलाको जोडीसँग २१–१९, १९–२१, २१–१७ को नतिजामा पराजित भयो भने अमिता गिरी र रसिलाको जोडीलाई फतिमाथ नबाहा र अमिनाथ शाहुरु नाजको जोडीले २१–१३, २१–११ को सोझो सेटमा निराश पा-यो।

नेपाली टिमका प्रशिक्षक जयन्तकुमार श्रेष्ठ आइतबार पुरुष टिमको प्रदर्शनमा निक्कै उत्साहित थिए । ‘पाकिस्तान हाम्रा लागि सधंै बलियो प्रतिद्वन्द्वी हो । डबल्समा उनीहरूलाई पहिलो पटक हराएका छौं,’ उनले भने, ‘एकलमा पनि पाकिस्तानका नम्बर एक खेलाडीलाई हामीले सोझो सेटमा हराउनु ठूलो उपलब्धि हो । यो हाम्रो सुधारको प्रमाण हो ।’
पुरुष टिम इभेन्ट्समा नेपालले सोमबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।

तेक्वान्दो
तेक्वान्दोमा पहिलो दिन आइतबार नेपालका लागि सुखद हुन सकेन । जेनेभा कन्भेन्सन सेन्टरको कभर्डहलमा प्रतिस्पर्धा गर्दै नेपालले तेक्वान्दोको पुम्सेमा अन्तर्राष्ट्रिय सहभागिताको औपचारिक सुरुआत गरेको थियो । तर आइतबार खेलेका तीनवटै खेलमा निराश भएपछि नेपालको सुरुआत सुखद बन्न सकेन।

पुरुष एकल पुम्सेमा कमल श्रेष्ठ चाइनिज ताइपेईका चेन चिङसँग समग्रमा ८.३८०–७.५१० को स्कोरमा पराजित भए । यसै गरी महिला एकलमा  पार्वती गुरुङ पनि चाइनिज ताइपेईकै खेलाडी वेनसुआन लियाओसँग ८.१००–७.५४० को नतिजामा निराश भइन् । आइतबारै भएको महिला टिम इभेन्ट्समा नेपालका सिमा लिम्बु मादेन, निता गुरुङ र पार्वती गुरुङको टिम चाइनिज ताइपेईकै टिमको सिकार भयो । ताइपेईका माफ्तुनाहोन टोलिबोभा, मरिना किम र सेभारा इस्मुरोडोभाको टिमले नेपाली टोलीलाई पराजित गर्दै कांस्य पदक पक्का ग-यो । त्यसअघि उज्वेकिस्तानबाट वाकओभर पाउँदा नेपाली महिला टोलीले सोझै क्वार्टरफाइनल खेल्न पाएको थियो।

नेपाली पुम्से टोलीका प्रशिक्षक नोर्बु लामा हारका बावजुद आइतबारको प्रदर्शनमा सन्तुष्ट थिए । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव एवं एसियाली खेलकुदमा नेपाली टोलीका सेभ दी मिसन केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका सहमहासचिव राजीव श्रेष्ठलगायतले प्रतिस्पर्धास्थलबाटै हेरेको खेलमा पराजित भएपछि प्रशिक्षक लामाले ‘राम्रो प्रदर्शन गरेको’ प्रतिक्रिया दिए । तेक्वान्दोको अन्तर्राष्ट्रिय वरीयताको दोस्रो स्थानमा रहेको चाइनिज ताइपेई सुरुमै प्रतिद्वन्द्वी पर्नु चाहिँ दुर्भाग्यजनक रहेको उनको भनाइ थियो।

‘पुम्सेमा हाम्रो यो पहिलो सहभागिता हो । कतिपय टेक्निक त हामीले यसपालि बन्द प्रशिक्षणमा बसेपछि मात्र सिकाएका छौं । हाम्रा खेलाडीले दक्षिण कोरियाको बसाइमा धेरै कुरा सिक्न पाए । पहिलो पटक नै यति राम्रो टिमसँग यत्तिको खेल्दा म आफ्ना खेलाडीबाट सन्तुष्ट छु,’ लामाले भने, ‘चाइनिज ताइपेईसँगै सबै खेल पर्नु हाम्रा लागि त्यति सुखद रहेन । तथापि हामीले यसपालिको सहभागितालाई सागको तयारीका रूपमा लिएका छौं । यहाँको अनुभव सागलाई काम लाग्छ।’

तेक्वान्दोमा सोमबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सागर गुभाजुले ५८ केजीमुनिको तौलसमूहमा भुटानका दोर्जी तेन्जिङसँग अन्तिम ३२ अन्तर्गतको प्रतिस्पर्धा गर्नेछन् । यसै गरी महिलातर्फ ५३ केजीमुनिको तौलमा निमा गुरुङले लेबनानकी आउन लेटिटा तथा ६७ केजीमुनिको तौलमा संगीता बस्यालले फिलिपिन्सकी अर्पोन बिएनसँग खेल्नेछन् । निमा र संगीताले सोमबारका खेल जिते क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नेछन्।

नेपालको तेक्वान्दो क्योरुगी टिमका प्रशिक्षक दीपक विष्टले क्योरुगीका फाइट इभेन्ट्समा पदक आशा गरेको बताए । क्योरुगीमा सबै खेलाडीबाट राम्रो प्रदर्शन आशा गरिए पनि सोमबार निमा र सागरको सम्भावना बलियो रहेको उनको भनाइ थियो।

फेन्सिङ :
फेन्सिङमा नेपाली टोलीले हारका साथ १८औं एसियाली खेलकुदको सुरुआत गरेको छ । आइतबार जकार्ता कन्भेन्सन सेन्टरस्थित फेन्सिङ हलमा सेबर महिला व्यक्तिगततर्फ कमला श्रेष्ठले समूह ‘सी’ अन्तर्गतका पाँचमध्ये चार खेलमा पराजय सामना गरिन् भने समूह ‘डी’ मा रविनाले सबै पाँच खेलमा एउटै अंक जोड्न नसकी हार स्विकारिन्।

कमलाले मंगोलियाकी एरिन्जाया युन्डेन्डोजलाई अंक जोड्नै नदिई ५–० ले हराइन । दोस्रो खेलमा हङकङकी आउ सिन यिङसँग ५–१ ले पराजित भएकी उनी तेस्रो खेलमा भियतनामकी बुई ती थुहासँग ४–५ को प्रतिस्पर्धात्मक नतिजामा निराश भइन् । यसै गरी उनी चीनकी चियान जियारुड तथा जापानकी तामुरा नेरिकासँग ०–५ को नतिजामा निराश भएकी थिइन्।

रविनाको प्रदर्शन भने आइतबार चित्तबुझ्दो रहन सकेन । उनी दक्षिण कोरियाकी युन जिसु, इरानकी रफिई डेल्काओ, आयोजक इन्डोनेसियाकी परमातसरी डिया, जापानकी फुकुसिमा सियोमी र कम्बोडियाकी चे लिनसँग पराजित भइन् । उनले कुनै पनि खेलमा अंक लिन सकिनन्।

फेन्सिङमा नेपालले अब महिला टिम सेबरअन्तर्गत मंगलबार खेल्नेछ । महिलाको टिममा कमला र रविनासँगै मीना देवी र अस्मिता खड्का छन् । त्यस्तै पुरुषतर्फ नेपालले फोइल विधामा एकल र टिम स्पर्धामा भाग लिनेछ । पुरुषतर्फ टिम स्पर्धा बुधबार हुने नेपाली टिमकी व्यवस्थापक हेल्गा राणा रायामाझीले जानकारी गराइन्।

कुस्ती:
कुस्तीमा नेपालको एसियाली खेलकुद सहभागिता केही सेकेन्डको अनुभवमै सीमित भयो । तीन खेलाडी लिएर इन्डोनेसिया भ्रमणमा निस्केको नेपाली टोलीका सबै खेलाडी आइतबार  पहिलो खेलमै पराजित भएका छन्।

पुरुष फ्रिस्टाइल ५७ केजी तौलसमूहमा भगवती शाह तेली इरानका रेजा एट्रिनाघर्चीसँग केही सेकेन्ड पनि नटिकी ४–० ले पराजित भए ।  यसै गरी ७४ केजी फ्रिस्टाइलमा सुरेश चुनारा जापानका युही फुजिनामीसँग त्यसै गरी ४–० कै नतिजामा निराश भए । ६५ केजीको फ्रिस्टाइलमा सुरेश यादवको भाग्य पनि अरू दुई खेलाडीको भन्दा फरक रहेन । उनी पनि केही सेकेन्ड नटिक्दै मंगोलियाका बातमाग्नाई बातचुलुनसँग ४–० कै नतिजामा पराजित भए।

नेपाली कुस्ती टोलीका व्यवस्थापक उपेन्द्र यादवले पहिलो चरणमै विश्व च्याम्पियन खेलाडीहरूको सामना गर्नुपर्दा नतिजा दुःखद भएको बताए । ‘हामीलाई हराउनेहरू नै यहाँ च्याम्पियन हुने खेलाडी हुन् । पहिलो चरणमै उनीहरूसँग परेपछि हामीले खेलाडीको प्रदर्शन मूल्यांकन गर्न पनि पाएनौं,’ उनले भने।

आफूमाथि सधै हाबी हुँदै आएको पाकिस्तानलाई हराएर नेपाली ब्याड्मिन्टनको छवि ‘ह्विपिङ ब्वाइज’ बाट ‘विनर्स ब्वाइज’ मा परिणत गरेको छ।

प्रकाशित: ३ भाद्र २०७५ ०५:५९ आइतबार

ब्याडमिन्टन नेपाल_क्वाटरफाइनलमा एसियाड