खेल

पाकिस्तानलाई पराजित गर्दै नेपालले इतिहास रच्ला?

काठमाडौं – इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष फुटबलमा नेपालको यु–२३ टोलीले आइतबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानको यु–२३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। खेल नपाली समयअनुसार प्याट्रिओट चन्द्रभागा रंगशालामा दिउँसो ३ः३० बाट सुरु हुनेछ।

समूह चरणको पहिलो खेलमा जापानसँग सम्मानजनक १–० र दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्न मैदान उत्रनेछ। नेपालले पाकिस्तानलाई पराजित गर्न सके समूहको उत्कृष्ट तेस्रो टोली बन्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना छ। त्यसैले नेपाललाई पाकिस्तानविरुद्ध जितको विकल्प हुने छैन्।

नेपाली फुटबल टोलीले अहिलेसम्म एसियाली खेलकुदमा जित हात पार्न नसकेकाले आजको खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल इतिहास बनाउन चाहन्छ। पाकिस्तान जापानसँग ४–० र भियतनामसँग ३–० ले पराजित भएको थियो। त्यसैले पाकिस्तान भन्दा नेपाल तुलनात्मक रुपमा बलियो देखिएको छ।

नेपालले सन् १९८२ को एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गरेको थियो। नेपालले अहिलेसम्म एसियाली खेलकुदको १७ खेलमा ६८ गोल खाँदा १ मात्र फर्काएको छ। नेपालको कमजोर पक्ष फिनिसिङ रहेको छ। 

 

प्रकाशित: ३ भाद्र २०७५ ०४:५८ आइतबार

एसियाली_खेलकुद पुरुष फुटबल नेपाल