खेल

मेसीलाई आराम

ब्युनस आयर्स – अर्जेन्टिनाले शुक्रबार आगामी ४ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा कप्तान लियोनल मेसीलाई आराम दिएको छ।

गत साता बार्सिलोनाका स्ट्राइकर मेसीले अर्जेन्टिनी फुटबल संघलाई २०१८ का बाँकी ४ मैत्रीपूर्ण खेलहरूमा समावेश नगर्न आग्रह गरेको खबर सार्वजनिक भएको थियो । त्यस्तै नयाँ प्रशिक्षक लियानेल स्कालोनीले म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्विरो, पेरिस सेन्ट जर्मन (पिएसजी)का एन्जेल डी मारिया र एसी मिलानका गोन्जालो हिग्विनलाई पनि टोलीमा समावेश गरेका छैनन्।

रूस विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि तत्कालीन प्रशिक्षक जर्ज साम्पोलीको सम्झौता अन्त्य गर्दै अर्जेन्टिनी फुटबल संघले यु–२१ टोलीका प्रशिक्षक स्कालोनीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

अर्जेन्टिनाले आगामी महिना अमेरिकामा ग्वाटेमाटा र कोलम्बियासँग मैत्रीपूर्ण खेल खेल्नेछ भने वर्षको अन्त्यमा थप दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

 

प्रकाशित: ३ भाद्र २०७५ ०३:३३ आइतबार

अर्जेन्टिना मैत्रीपूर्ण_खेल लियोनल मेसी