खेल

गोडिन एट्लेटिकोमै बस्ने

मड्रिड – स्पेनिस ला लिगको क्लब एट्लेटिको मड्रिडका रक्षक डिएगो गोडिनले मंगलबार ‘व्यक्तिगत कारण’ ले क्लब बसाई लम्बाउन चाहेको बताएका छन्।

२०१९ मा एट्लेटिकोसँगको सम्झौता समाप्त हुने भए पनि उनले सम्झौता नवीकरण गरेका छैनन्। अगस्ट ९ मा इङलिस प्रिमियर लिगको सरुवा बजार बन्द हुनुअघि उरुग्वेका कप्तान गोडिनलाई म्यानचेस्टर युनाइटेडले भित्रयाउने प्रयास गरेको थियो । तर गोडिनले युनाइटेडको प्रस्ताव अस्विकार गरेका थिए।

‘मलाई युनाइटेडबाट अनुबन्धनको प्रस्ताव आएको कुरा सत्य हो । तर मैले ‘व्यत्तिगत कारण’ एट्लेटिकोमै बसिरहने निर्णय लिए,’ ३२ वर्षे गोडिनले भने, ‘मैले एट्लेटिकोसँगको सम्झौता नवीकरण गरेको छैन । मैले विगत केही दिनयता सरुवाको बारेमा धेरै खबर सुनेँ । तर म सञ्चार माध्यमा आएका हल्लाको पछि लाग्नु भन्दा पनि क्लबमा राम्रो भन्दा राम्रो प्रदर्शन गर्दै थप सफलता हासिल गर्नेमा केन्द्रित छु।’

२०१० मा भिल्लारियालबाट एट्लेटिको भित्रिएका गोडिनले क्लबबाट ३ सय ५० खेल खेलिसकेका छन् । उनले एट्लेटिको बसाईमा २०१२ मा युरोपा कप, २०१३ मा कोपा डेल रे र २०१४ मा स्पेनिस ला लिगाको उपाधि जितेका थिए।

प्रकाशित: ३१ श्रावण २०७५ ०३:४३ बिहीबार

#एट्लेटिको मड्रिड #डिएगो गोडिन #व्यक्तिगत कारण