खेल

एथ्लेटिक्सको चुनाव भदौमा

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्देशनका कारण नेपाल एथ्लेटिक्स संघको मंगलबारलाई तय भएको निर्वाचित साधारणसभा भदौ २२ गतेसम्मका लागि स्थगित भएको छ। 

एसियाली खेलकुदको तयारीमा रहेको भन्दै राखेपले निर्वाचन रोक्ने निर्देशन पत्र पठाएपछि साधारणसभा स्थगित गरेको नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए। 

‘युवा तथा खेलकुद मन्त्री, राखेपका सदस्यसचिव र अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थितिमा नयाँ कार्यसमितिको निर्वाचन गराउनु पर्ने हुन्छ । एसियाली खेलकुदलाई मध्यनजर गर्दै  हामीले कार्यसमितिको निर्वाचन भदौ २२ गतेलाई तोकेका छौं,’ शाहले भने, ‘राखेपले एसियाली खेलकुदका लागि तत्काललाई साधारण सभा रोक्ने निर्देशन दिएको हो । एसियाली खेलकुद सकिएपछि उपयुक्त समय हेरेर जुनसुकै दिन पनि साधारणसभा गराउन सक्ने बताएको छ।’

संघको गत जेठमा वसेको कार्यसमिति वैठकले साउन २९ (मंगलबार) गते चितवनको सौराहामा निर्वाचित साधारणसभा गर्ने निर्णय गरेको थियो।

‘अन्य संघमा जस्तो हाम्रो संघमा राजनीतिक हस्तक्षेप छैन् । हाम्रो संघमा सबै राजनीतिक दलका प्रतिनिधिहरु छन् । उनीहरु सबैले मलाई सहयोग गरिरहेका छन्,’ नेपाली काग्रेसका तर्फबाट जाजरकोटमा संघीय संसदका पराजित उम्मेदवार शाहले भने, ‘विभिन्न जिल्लाका प्रतिनिधिहरु निर्वानका लागि तयार छन् । हामी पनि विधिसंगत तरिकाबाट निर्वाचन होस भन्नेमा छौं।’

इन्डोनेसियामा शुक्रबार सुरु हुने १८औं दक्षिण एसियाली खेलुकदमा नेपालका ६ खेलाडीले एथ्लेटिक्समा सहभागिता जनाउँदैछन् । इन्डोनेसियामा नेपालको झण्डा बोक्ने ४ पुरुष र २ महिला एथ्लेटिक्स खेलाडीमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीकृष्ण पार्की, कृष्ण बश्नेत, सरस्वती भट्टराई र विश्वरुपा बुढा छन्। 

पुरुषतर्फ यामसाजनले १ सय र २ सय मिटर दौड, सोमबहादुरले ८ सय मिटर दौड तथा गोपीकृष्ण र कृष्णले म्याराथनमा सहभागिता जनाउनेछन् । यसैगरी महिलातर्फ सरस्वतीले ८ सय र १ हजार ५ सय मिटर दौड तथा विश्वरुपाले १० हजार र ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथ्लेटिक्स संघले जनाएको छ। 

एसियाली खेलकुदका लागि नेपाली टोलीले भारतको कोलकत्तामा एक महिने विशेष प्रशिक्षण गरेको थियो । संघले इन्डोनेसिया जाने खेलाडीहरुलाई मंगलबारै विदाई गर्याे।

 

प्रकाशित: ३० श्रावण २०७५ ००:२२ बुधबार

#नेपाल एथ्लेटिक्स संघ #साधारणसभा #राजीवविक्रम शाह