खेल

बाकायोको मिलानमा

रोम – फ्रान्सका अन्तर्राष्ट्रिय मिडफिल्डर टिमोउ बाकायोकोको स्टामफोर्ड ब्रिजको निराशाजनक बसाई टुंगाउँदै एसी मिलानले उनलाई लोनमा सान सिएरो लगेको इटालियन सिरी ‘ए’ को क्लबले सोमबार जनाएको छ।

मिलानले तत्कालका लागि ५० लाख युरोमा २३ वर्षे खेलाडी भित्रयाए पनि अर्को वर्ष उनलाई खरिद गर्न चाहे ३ करोड ५० लाख युरो तिर्नुपर्ने सम्झौता गरेको बताइएको छ।

प्रिमियर लिगमा २९ खेल खेलेपछि बाकायोको इटाली जान लागेका हुन् । गत सिजन मोनाकोबाट ४ करोड युरोमा चेल्सी आएका बाकायोकोले प्रिमियर लिगमा फ्रान्सको जस्तो सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिन सकेका थिएनन् । नयाँ  सिजनको पहिलो खेलमा शनिबार हडर्सफिल्डलाई ३–० को नतिजामा हराउँदा नयाँ प्रशिक्षक माउरिजियो सारीले बाकायोकोलाई टोलीमा समावेश गरेका थिएनन् । उनलाई स्थानान्तरण गरेका जर्जिन्होले टोलीको सहज जितमा एक गोल गरेका थिए। 

पछिल्ला वर्षहरुमा लगातार कमजोर नतिजामा सिमित हुँदै आएको मिलानले टिम बलियो बनाउने अभियानमा बाकायोकोको आगमनले सहयोग पुग्ने आशा लिएको छ । गत सिजन टिम बलियो बनाउने उदेश्यमा झण्डै २० करोड युरो नयाँ खेलाडीमा खर्च गरे पनि मिलानले छैटौं स्थानमा रहेर इटालियन सिरी ‘ए’ सिजनको अन्त्य गरेको थियो। 

प्रकाशित: २९ श्रावण २०७५ २३:५६ मंगलबार

#टिमोउ बाकायोको #एसी मिलान #स्टामफोर्ड ब्रिज