खेल

थकित खेलाडीको जोशिलो प्रदर्शन

लन्डन – विश्वकप खेलेपछि छोटो समयको विदापछि टिममा फर्किएका खेलाडीले थकान महशुस नहुने गरी उत्कृष्ट प्रदर्शन गर्दै आइतबार आर्सनलमाथि २–० को नतिजा निकालेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीहरुको प्रशंसा गरेका छन्।

रूसमा सम्पन्न विश्वकपको विदा मनाएर फर्किएका खेलाडीहरुले प्रशिक्षकलाई इमरेट्स रंगशालाबाट आफूहरु खेल्न तयार रहेको जनाउ दिएका छन् । इङ्ल्यान्डका रहिम स्टर्लिङ, काइल वाल्कर र जोन स्टोन्ससहितका केही खेलाडी विदा छोट्याएर चाडै क्लब फर्किएका थिए । केही सातामात्र अभ्यास गरे पनि सिटी अत्मविश्वासी प्रदर्शन गर्दै आर्सनलमाथि हावी बनेको थियो।

स्टर्लिङले शुरुमै गोल गर्दै दिलाएको सिटीको अग्रतालाई दोस्रो हाफमा बर्नान्डो सिल्भाले दोब्बर बनाए । यससँगै ग्वार्डिओलाको सिटीले च्याम्पियन टोलीको छाप छोड्न सफल भएको छ । ‘विश्वकप खेलेर फर्किएका धेरै खेलाडी शारिरिक रूपमा थकित भए पनि हामीले उच्च स्तरको प्रदर्शन गर्याै,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘क्लबका लागि धेरै खेलाडीले त्याग गरेका छन् । हामीले एक सातामात्र अभ्यास गर्न पाए पनि मैदानमा त्यस्तो देखिएन । दुई दशकपछि नयाँ प्रशिक्षक पाएको आर्सनलविरुद्ध उसैको मैदानमा पहिलो खेल खेल्न सहज थिएन । त्यसैले जित हामीले सोचेभन्दा सुखद रह्यो।’

गत सिजन कीर्तिमानसहित लिगको उपाधि उचालेको सिटी जितका लागि भोकाएको बाघ जस्तो देखिएको थियो । गत सिजन १ सय अंक सहित लिगको उपाधि जितेको सिटीले लिग कपको पनि उपाधि जितेको थियो । उपाधि रक्षा गर्ने अभियानमा आर्सनलविरुद्ध अवे खेलमा महत्वपूर्ण तीन अंक बटुलेको सिटीको प्रदर्शनले दाबेदार अन्य टोलीलाई चुनौती दिएको छ । २००८÷०९ सिजनमा म्यानचेस्टर युनाइटेडपछि प्रिमियर लिगमा कुनै पनि टोलीले उपाधि रक्षा गर्न सकेका छैनन्। 

खेलाडीहरु कत्तिको उत्प्रेरित छन् भन्ने प्रश्नमा प्रशिक्षक ग्वार्डिओलाले थपे, ‘यो प्रश्नका लागि जवाफको आवश्वकता छैन । मैले खेलाडीलाई ‘जितका लागि आतुर छौ’ भनेर सोध्दा उनीहरुले ‘छौं’ भनेका थिए । मलाई थाहा थिएन, उनीहरुले मैदानमा पनि प्रमाणित गर्छन भनेर । हाम्रो आत्मविश्वासका लागि यो जित महत्वपूर्ण छ । हामी यहीबाट अघि बढ्नुपर्छ । हाम्रो औसत प्रदर्शन पनि उच्च छ । तर अझै सुधार आवश्यक छ । जाडो सिजन शुरु हुदैछ, त्यतिबेला धेरै कुरा हुन्छन् । हामी बलियो टोली हौं । अरु हेर्दै जाउ।’

चोटका कारण गत सिजन अधिकांस समय मैदान बाहिर रहेका फ्रान्सका रक्षक बेन्जामिन मेन्डी टोलीमा फर्किएका छन् । ग्वार्डिओलाले उनको प्रदर्शनमा अझै सुधार आउने विश्वास लिएका छन् । ‘मेन्डी त्यस्ता खेलाडी हुन्, जसलाई कहिले मारिदिउ जस्तो लाग्छ । कहिले वाह यस्तो खेलाडी हामीसँग छन् भन्ने लाग्छ । उनले अझै धेरै कुरामा सुधार गर्नु आवश्यक छ । आशा गरौं तमाम आलोचनाका बावजुद उनले आफूलाई प्रमाणित गर्नेछन्।’

फ्रान्सका आर्सेन वेंगरले २२ वर्ष बिताएर विदा भएपछि आर्सनलले युनाई इमरेलाई नयाँ प्रशिक्षकलाई प्रिमियर लिगमा डेब्यू गराएको थियो । गत सिजन छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेपछि बेंगरले इमिरेट्स बसाई टुंगाएका थिए । तर, फ्रान्सको पिएसजीबाट आएका इमरेको शुरुआत सखद हुन सकेन।

‘हामीले अझ धेरै राम्रो गर्न सक्थ्यौं । तर खेलाडीको प्रदर्शनबाट म खुशी छु । उनीहरुले मिहिनेत गरे,’ प्रशिक्षक इमिरेले भने, ‘यो पहिलो पाइला हो । मेरो शैलीका लागि हामीले अझै मिहिनेत गर्न बाँकी छ । सिटी तीन वर्षदेखी ग्वार्डिओलाको प्रशिक्षणमा छ । उनले उत्कृष्ट खेलाडीका साथ टोलीलाई स्थिरता दिएका छन् । हामीले सुधार गर्नु आवश्यक छ।’

प्रकाशित: २९ श्रावण २०७५ ०३:३१ मंगलबार

#म्यानचेस्टर सिटी #फुटबल #खेलाडीको प्रशंसा