खेल

चण्डीमल श्रीलंकाली टोलीमा

कोलम्बो (एएफपी)– खेलभावना विपरीतको व्यवहारका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहेका श्रीलंकाली कप्तान दिनेश चण्डीमल फुकुवा भएपछि बिहीबार ट्वान्टी–२० टोलीमा समावेश भएका छन्। 

श्रीलंका भ्रमणमा रहेको दक्षिण अफ्रिकाविरुद्ध मंगलबार कोलम्बोमा हुने ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि चण्डीमललाई १५ सदस्यीय टोलीमा समावेश गरेको क्रिकेट श्रीलंकाले जनाएको छ  । प्रतिबन्धका कारण २८ वर्षे खेलाडीले श्रीलंका विजयी भएका पछिल्ला दुई टेस्ट शृंखला गुमाएका थिए। 

दक्षिण अफ्रिकाविरुद्ध जारी शृंखलामा पनि पहिलो चार एकदिवसीय खेलमा उनी टिममा थिएनन् । पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल आइतबार हुँदै छ, त्यो खेलका लागि पनि उनलाई टिममा समावेश गरिएको छैन । तर क्रिकेट श्रीलंकाले मंगलबार हुने दिवा–रात्रि ट्वान्टी–२० खेलको टोलीमा भने उनलाई समेटेको हो।

जुनमा वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टदौरान मैदान छिर्न दुई घण्टा ढिलो गरेका कारण चण्डीमल, प्रशिक्षक चण्डिका हथुरुसिंगा र व्यवस्थापक एसान्का गुरुसिन्हालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रतिबन्ध लगाएको थियो । त्यसको केही समयअघि चण्डीमलमाथि बल टेम्परिङको पनि आरोप लागेको थियो। 

दोस्रो टेस्टको उक्त घटनापछि श्रीलंकाली कप्तानलाई तत्काल तेस्रो टेस्टमा प्रतिबन्ध लगाउनुका साथै म्याच फी जरिवाना गरिएको थियो । खेलभावना मिचेको अभियोग प्रमाणित भएपछि उनलाई थप दुई टेस्ट तथा चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध लगाइएको थियो। 

श्रीलंकाली टिम : एन्जेलो म्याथुज (कप्तान), डासुन शानाका, कुशल परेरा, धनञ्जय डी सिल्भा, उपुल थारंगा, कुशल मेन्डिज, थिसारा परेरा, सेहान जयसूर्या, सेहान माडुसान्का, लहिरु कुमारा, दिनेश चण्डीमल, अकिला धनञ्जय, जेफेरी भान्र्डसे, लक्षण सन्दकान, बिनुरा फर्नान्डो 

प्रकाशित: २४ श्रावण २०७५ १५:४९ बिहीबार

अाइसिसि #दिनेश चण्डीमल #श्रीलंका