खेल

किपा बने विश्वकै महँगा गोलकिपर

मड्रिड – इङ्लिस क्लब चेल्सीले स्पेनीस क्लब एथ्लेटिको बिलबाओका गोलकिपर किपा अरिजाबालागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा भित्र्याएको छ।

समर ट्रान्सफरको अन्तिम दिन गोलकिपर किपालाई चेल्सीले कीर्तिमानी मुल्य ८ करोड युरोमा ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो। २३ वर्षे किपाले स्टाम्फोर्ड ब्रिजमा थियाबाउट कोर्टोइसको स्थान लिने बताइएको छ।

बेल्जियमका गोलकिपर कोर्टोइस विश्वकप सकिएपछि पनि क्लबको अभ्यासमा फर्किएका छैनन्। रियाल मड्रिडले कोर्टोइसप्रति इच्छा देखाउँदै आएको छ। यसअघि गत महिना लिभरपुलले एएस रोमाका गोलकिपर एलिसनलाई ७ करोड २५ लाख युरोमा अनुबन्धन गरेको थियो। 

‘बुधबार दिउँसो १२ बजेर २ मिनेट जाँदा ला लिगाले हामीलाई किपाले उनको सम्भावित चेल्सी सरुवाका लागि तोकिएको ८ करोड युरो तिरेको पुष्टि गरेको छ,’ बिलबाओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबलाई आजका दिनसम्म दिएको योगदानका लागि हामी किपालाई धन्यवाद दिन चाहन्छौं।’

किपाले गत दुई सिजन बिलबाओबाट ५३ खेल खेलेका थिए । उनले २०१७  नोभेम्बरमा कोस्टारिकाविरुद्ध ५–० को जित हात पारेको मैत्रीपूर्ण खेलसँगै स्पेनबाट डेब्यु गरेका थिए। रूस विश्वकपमा पनि टोलीमा स्थान बनाएका किपा पहिलो रोजाइमा भने पर्न सकेनन्।

गत सिजन जनवरी सरुवा बजारमा रियालले किपालाई भित्र्याउने इच्छा देखाएपछि बिलबाओले उनको सरुवा रकम २ करोड युरोबाट ८ करोड युरो पुर्याएको थियो। 

त्यस्तै स्पेनका सञ्चारमाध्यमले रियालले बेल्जियमका गोलकिपर कोर्टोइसलाई ३ करोड ५० लाख युरोमा अनुबन्धन गर्न लागेको उल्लेख गर्दै आएका छन्। यद्यपि रियालका प्रशिक्षक युलेन लोप्तेगीले भने कोर्टोइसको सान्टियागो बर्नाबेउ आगमनबारे आफू जानकार नभएको बताए । 

‘मैले पहिलेदेखि भन्दै आएको छु, म रियालबाहेक अन्य क्लबका खेलाडीको कुरा गर्न चाहन्नँ,’ लोप्तेगीले भने, ‘हाम्रो पहिलो रोजाइका गोलकिपर केलोर नाभास हुन् र यसमा कुनै दुविधा छैन।’ ‘नाभास उत्कृष्ट र क्षमतावान् गोलकिपर हुन्,’ लोप्तेगीले भने, ‘उनी रियालसँग सन्तुष्ट छन् र रियाल उनीसँग।’

प्रकाशित: २४ श्रावण २०७५ ०४:४७ बिहीबार

#चेल्सी #किपा अरिजाबालागा #विश्व कीर्तिमानी मुल्य