लन्डन – आर्सनलको बहुमत सेयरका मालिक स्टान क्रोइन्केले मंगलबार इङ्लिस प्रिमियर लिगको क्लबको पूरा स्वामित्व १ अर्ब ८० करोड डलरमा खरिद गर्ने प्रस्ताव गरेका छन्।
अमेरिकाका खेलकुद व्यावसायका ठूलो नाम क्रोइन्के स्पोटर्स एन्ड इन्टरटेनमेन्ट (केएसई)सँग अहिले आर्सनलमा ६७ प्रतिशत सेयर स्वामित्व छ । लन्डन स्टक एक्सचेन्जको विज्ञप्तिअनुसार रूसी अर्बपति व्यापारी एलिसेर उस्मानोभले पनि आफ्नो स्वामित्वमा रहेको क्लबको ३० प्रतिशत सेयर केएसईलाई बेच्न सहमति जनाइसकेका छन्।
‘क्लबको रणनीति र महत्वाकांक्षा प्राप्तिका लागि एकल स्वामित्वबाट फाइदा पुग्नेमा केएसई विश्वास राख्दछ,’ केएसइले विज्ञप्तिमा भनेको छ, ‘दीर्घकालीन योजनासहित क्लबको स्वामित्व हासिल गर्नका लागि केएसई प्रतिबद्ध छ।’
एनएफएलको टोली लस एन्जल्स राम्सको स्वामित्वसमेत भएको क्रोइन्केले २००७ बाट आर्सनलमा लगानी सुरु गरेको थियो । त्यसयता क्रमैसँग लगानी बढाउँदै लगेर हाल अमेरिकी कम्पनी क्लब व्यवस्थापनमा हाबी भएको हो।
‘क्लब इतिहासमै यो दुःखद हुनेछ । स्टान क्रोइन्केले क्लबलाई निजी बनाउन खोज्दै छन् । त्यसो भएमा समर्थकको सेयर हुने छैन।’
स्टिल उद्योगबाट भाग्य परिवर्तन गरेका उज्वेकिस्तानमा जन्मिएका उस्मानोभले भने विगतमा थुप्रै पटक क्लबको स्वामित्वमा एकल नियन्त्रणको असफल प्रयास गरेका थिए । आर्सनलका समर्थकहरूजस्तै उनी पनि क्रोइन्केको क्लबप्रतिको निष्क्रियताबाट खुसी थिएनन् । क्लबको आर्थिक स्थायित्व भइरहँदा पनि क्रोइन्केका कारण बोर्ड सक्रिय हुन नसक्दा मैदानमा क्लबले अपेक्षित सफलता हासिल गर्न नसकेको उनको बुझाइ थियो।
स्वामित्व हस्तान्तरण नियमअनुसार उस्मानोभ आफ्नो सेयर बेच्न सहमत भएपछि अन्य साना सेयर होल्डरहरू पनि सेयर बेच्ने योजनामा पुगेको बताइएको छ । उस्मानोभको निर्णयपछि लामो समययता क्लबका साना सेयर होल्डरहरू आफ्ना सेयर बेच्न बाध्य हुने पनि अनुमान छ।
‘केएसईले क्लबको पूरा शतप्रतिशत सेयर आफैंले किन्ने निर्णय गरेका छौं,’ लन्डन स्टक एक्सचेन्जको विज्ञप्तिमा क्रोइन्केले भनेका छन्, ‘आर्सनल फुटबल क्लबप्रति उस्मानोभको लगावलाई हामी उच्च सम्मान गर्छैं । यसै गरी क्लबको इतिहास र समर्थकहरू पनि उच्च सम्मानको हकदार छन्।’
केएसईको पूरा स्वामित्व हासिल गर्ने योजनाप्रति क्लब समर्थकहरूको संस्था आर्सनल स्पोर्ट्स ट्रस्ट (एएसटी) ले भने चासो जनाएको छ । ‘क्लब इतिहासमै यो दुःखद हुनेछ । स्टान क्रोइन्केले क्लबलाई निजी बनाउन खोज्दै छन् । त्यसो भएमा समर्थकको सेयर हुने छैन,’ एएसटीले विज्ञप्तिमा भनेको छ, ‘क्रोइन्केले लोन लिएर यहाँको सेयर खरिद गर्न खोजिरहेका छन् । जुन आफैंमा राम्रो होइन । अझ सबभन्दा दुःखको पक्ष त समर्थकको सेयर जबरजस्ती खोसिनु हो । यहाँ हाम्रा सदस्यले मूल्यका लागि नभई क्लबसँगको भावनाका लागि मात्र सेयर राखेका छन्।’
गत सिजन प्रिमियर लिगको छैटौं स्थानमा सीमित भएको आर्सनलले नयाँ प्रशिक्षक युनाई इमरेको नेतृत्वमा आइतबार साबिक विजेता म्यानचेस्टर सिटीसँग खेल्दै २०१८–१९ सिजनको सुरुआत गर्नेछ । दुई दशकभन्दा लामो समय प्रशिक्षकका रूपमा आर्सनललाई नेतृत्व गरेका आर्सेन वेंगरलाई स्थानान्तरण गर्दै हालै मात्र पेरिस सेन्ट जर्मनका पूर्वप्रशिक्षक इमरेले इमिरेट्सको नेतृत्व लिएका थिए।
प्रकाशित: २४ श्रावण २०७५ ०३:२४ बिहीबार