खेल

कोर्टाेइस र हाजार्ड चेल्सीमै रहने विश्वास

लन्डन – चेल्सीका रक्षक डेविड लुइजले गोलपिकर थियाबाउट कोर्टोइस र फरवार्ड इडेन हाजार्ड स्टामफोर्ड ब्रिजमै रहेको हेर्ने चाहना राखेका छन्। 

तथापि बेल्जियमका स्टार खेलाडीद्वय अन्यत्र सरुवा भए पनि चेल्सीको चमक कम नहुने उनले विश्वास व्यक्त गरे । चेल्सीसँग सम्झौता एक वर्ष बाँकी रहेका २६ वर्षे कोर्टोइस रियाल मड्रिड सरुवा हुने चर्चा छ। 

चेल्सीले जनवरीमा उनलाई बेचे अहिलेभन्दा कम रकम पाउनेछ भने अर्को वर्षसम्म कुरे स्वतन्त्र सरुवामा छोड्नुपर्नेछ । रूसमा गत महिना सम्पन्न विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित कोर्टोइस आफ्ना दुई सन्तानसँग नजिक रहनका लागि रियाल जाने चाहनामा रहेको उनका एजेन्टले बताएका छन्।

त्यस्तै २०२० सम्मका लागि सम्झौता भएका हाजार्डलाई नवीकरणका लागि क्लबले प्रस्ताव गरेको बताइएको छ । तर उनको पनि रियाल सरुवा सम्भावनाबारे लामो समयदेखि चर्चा चलिरहेको छ। 

‘चेल्सी उत्कृष्ट खेलाडीलाई आफूसँगै राख्न चाहन्छ । यहाँ सबैले उनीहरूलाई एकदमै माया गर्छन् । मेरो विचारमा उनीहरू यहीँ बस्नेछन्।’

‘चेल्सी उत्कृष्ट खेलाडीलाई आफूसँगै राख्न चाहन्छ,’ लुइजले भने, ‘उनीहरू पनि चेल्सीसँग राम्ररी परिचित छन् । त्यसैले यहाँ उनीहरूले के पाइरहेका छन् भन्ने उनीहरूलाई राम्ररी जानकारी छ । यहाँ सबैले उनीहरूलाई एकदमै माया गर्छन् । मेरो विचारमा उनीहरू यहीँ बस्नेछन्।’

मुख्य प्रशिक्षक माउरिसियो सारीले वेम्बलीमा सम्पन्न कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि कोर्टोइसले चाहना राखे आफू उनलाई छोड्न तयार रहेको बताएका थिए । प्रिमियर लिगका क्लबहरूले खेलाडी भित्र्याउने प्रयोजनका लागि सरुवा बजार बिहीबार बन्द हुनेछ, तर लुइजको विचारमा कोर्टोइस र हाजार्ड गए पनि चेल्सीमा प्रतिभाको कमी छैन।

‘उनीहरू अत्यन्तै आत्मविश्वास भएका विश्वकै उत्कृष्ट खेलाडीहरू हुन् । त्यसैले उनीहरू यहीँ बसून् भन्ने मेरो चाहना छ,’ लुइजले भने, ‘तर उनीहरूले छोड्ने निर्णय गरे भने पनि हामीले त्यसको सम्मान गर्नुपर्छ । त्यसपछि पनि हामीले उत्तिकै उत्कृष्ट खेलाडीहरूको साथमा यात्रा अगाडि बढाउनुपर्छ।’

चेल्सी छोड्ने चर्चामा रहेका अर्का खेलाडी विलियन हुन् । ब्राजिली प्लेमेकरका लागि म्यानचेस्टर युनाइटेड, बार्सिलोना र रियाल इच्छुक रहेको बताइएको छ । तर विलियनका अत्यन्तै निकट मित्र लुइजले उनी अन्यत्र जाने सम्भावना भने नकारे। 

‘सुरुदेखि नै उनी चेल्सीलाई निक्कै मन पराउँथे । उनले मलाई पनि त्यही भनेका छन् । त्यसैले अहिले उनले छोड्ने सम्भावना म देख्दिनँ । उनी पनि सरुवाको योजनामा रहेको भए मलाई जानकारी हुन्थ्यो,’ लुइजले विलियनबारे भने।

एन्टोनियो कोन्टेको पहिलो सिजनमै चेल्सीले प्रिमियर लिग उपाधि जित्दा लुइजको भूमिका महत्वपूर्ण थियो । तर त्यसपछि चोट र मुख्य प्रशिक्षकसँगको सम्बन्ध सुमधुर रहन नसक्दा उनले धेरै समय बेन्चमा बिताउनुपरेको थियो । लुइज आफैंले दोस्रो पटक चेल्सी छोड्ने सोच पनि नभएको बताउँदै सारीको चेल्सीमा मुख्य खेलाडीका रूपमा स्थापित हुने योजना बनाएको सुनाए।

‘म आफ्नो तर्फबाट अहिले शतप्रतिशतभन्दा बढी मिहिनेत गरिरहेको छु,’ लुइजले भने, ‘सबैले अवसर पाउँछन् । मैले पनि पाएको छु । अब शारीरिक र प्राविधिक क्षमताका साथै मिहिनेत र प्रतिबद्धता प्रमाणित गर्नुपर्छ । प्रशिक्षकलाई प्रदर्शनबाट प्रभावित गर्नुपर्छ । त्यसका लागि म पूरा प्रयत्नरत छु।’

प्रकाशित: २२ श्रावण २०७५ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App