खेल

स्टोक्सले खोसे भारतको जित

बर्मिङ्घम – बेन स्टोक्सले भारतका कप्तान विराट कोहलीसहित महत्वपूर्ण तीन विकेट लिएपछि शनिबार इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको विजय हासिल गरेको छ । जितसँगै पाँच खेलको टेस्ट शृंखलामा १–० ले अग्रता लिएको छ।

अलराउन्डर स्टोक्सले एकै ओभरमा विपक्षी कप्तान कोहली र मोहम्मद सामीको विकेट लिएपछि इङ्ल्यान्ड भारतविरुद्ध हाबी बनेको थियो । स्टोक्सले भारतका हार्दिक पाण्डेयलाई स्पिलमा एलेस्टर कुकमार्फत क्याच गराउँदै इङ्ल्यान्डको १ सयौं टेस्ट टुंग्याएका थिए । १ सय ९४ रनको विजयलक्ष्य पछ्याएको भारतले १ सय ६२ रन जोड्दा सबै विकेट गुमायो । १४.२ ओभर गरेका स्टोक्सले ४० रन दिएर ४ विकेट लिए।

तथापि, बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका इङ्ल्यान्डका अर्का अलराउन्डर साम कुरान म्यान अफ दी म्याच घोषित भए । भारतलाई १ सय ९४ रनको लक्ष्य दिने क्रममा २० वर्षे कुरानले ६३ रन बनाएका थिए । दोस्रो टेस्ट खेलेका कुरानले पहिलो टेस्ट अर्धशतक बनाएपछि एक समय ८७–७ को स्थितिमा रहेको इङ्ल्यान्ड सम्मानजनक स्कोर बनाउन सफल भएको थियो।

बायाँहाते मध्यम गतिका बलरले एक दिनअगाडि मात्र टेस्ट करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ७४ रन दिएर ४ विकेट लिएपछि भारतले पहिलो इनिङमा सबै विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । त्यही इनिङमा कोहलीले इङ्ल्यान्डमा पहिलो टेस्ट शतक बनाएका थिए।

‘क्रिकेटकै यो उत्कृष्ट खेल थियो । यस्तो रोमाञ्चक टेस्ट खेलमा सम्मिलित हुन पाउँदा गौरवान्वित छु।’

‘पहिलो इनिङमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनलाई आउट गरेपछि खेलले नयाँ मोड लियो,’ अलराउन्डर बेन स्टोक्सले भने, ‘यो टोलीको सदस्य हुन पाउँदा मलाई गर्व लागेको छ । शुक्रबारसम्म हामी पछाडि परिरहेका थियौं । तर कुरानले जुन हिसाबले खेले, त्यसले खेलको मोड परिवर्तन गरिदियो।’

दोस्रो टेस्टमै उत्कृष्ट प्रदर्शन गरेका कुरानले भने, ‘म आफैंलाई विश्वास लागेको छैन । यो मेरा लागि विशेष दिन हो ।’
अस्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध लगातार हार बेहोरेका कप्तान जो रूटलाई शृंखलाको पहिलो जितले राहत दिएको छ । ‘टोलीले उत्कृष्ट प्रदर्शनबाट म रोमाञ्चित भएको छु,’ इङ्ल्यान्डका कप्तान रूटले भने, ‘मैले खेलाडीलाई प्यासन र विश्वासका साथ खेल्न भनेको थिएँ । त्यसरी खेल्यौं भने हाम्रो जित्ने सम्भावना बलियो हुन्छ।’

पहिलो टेस्ट गुमाए पनि भारतका कप्तान विराट कोहलीले बाँकी खेलका लागि आफूहरू सकारात्मक र भयमुक्त रहेको बताएका छन् । ‘क्रिकेटकै यो उत्कृष्ट खेल थियो । यस्तो रोमाञ्चक टेस्ट खेलमा सम्मिलित हुन पाउँदा गौरवान्वित छु,’ भारतका कप्तान कोहलीले भने, ‘एक समय हामी बलियो स्थितिमा थियौं । तर, इङ्ल्यान्डले राम्रो क्रिकेट खेल्यो । दोस्रो इनिङमा हाम्रा बलरहरूले राम्रो खेले । आशा छ यसले निरन्तरता पाउनेछ ।’

शनिबार खेल शुरू हुँदा खेल बराबरीको स्थितिमा थियो । खेल जति बेला जसको पक्षमा पनि जान सक्थ्यो । भारत ५–११० को स्थितिमा थियो । जितका लागि भारतलाई थप ८४ रन बनाउनुपर्ने थियो भने इङ्ल्यान्डलाई ५ विकेट लिनुपथ्र्याे । बर्मिङ्घमको घमाइलो मौसममा खेल सकिन अझै सिंगै १ दिन बाँकी थियो । कोहली ४३ रन र विकेटकिपर दिनेश कार्तिक १८ रनमा अविजित थिए।

जितका लागि बिहानी सत्रमै विकेट निकाल्नुपर्छ भन्नेमा इङ्ल्यान्ड जानकार थियो । इङ्ल्यान्डबाट सबैभन्दा धेरै विकेट लिने जेम्स एन्डरसनले बिहानी सत्रको बलिङ सुरु गरे । छैटौं बलमा एन्डरसनले २० रन बनाएका कार्तिकलाई दोस्रो स्लिपमा डविड मालनमार्फत क्याच गराए । त्यससँगै यही खेलमा स्लिपमै ३ क्याच छुटाएका मालनको पनि मनोबल बढायो । उनले कोहली २१ र ५१ रनको स्थितिमा हुँदा क्याच छुटाएका थिए । उनै कोहलीले पहिलो इनिङमा शतक बनाए।

नयाँ ब्याट्सम्यान हार्दिक पाण्डेयले रक्षात्मक प्रदर्शन गरिरहँदा कोहलीले ८८ बलमा अर्धशतक पूरा गरे । एन्डरसनको बललाई कोहलीले फाइन लेगमा चौका हान्दै अर्धशतक बनाएका हुन् । भारत ६–१४१ को स्थितिमा हुँदा जितका लागि ५३ रनको अवश्यकता थियो । त्यही बेला स्टोक्सले ५१ रन बनाएका कोहलीलाई पवेलियन फर्काए । एलबिडब्लु आउट भएका कोहलीले रिभ्यु मागे पनि अनभुवी पाकिस्तानका अम्पायर एलिम डारको निर्णय सही बन्यो । तीन बलपछि नै सामीलाई विकेटकिपरको हातबाट क्याच गराए।

भारतले १ सय ४१ रन जोड्दा ८ विकेट गुमाएपछि इङ्ल्यान्डको आशा पलाएको थियो । लेग स्पिनर एडिल रसिदले ११ रन बनाएका इसान्त शर्मालाई एलबिडब्लु आउट गरे । लगत्तै स्टोक्सले ३१ रन बनाएका पाण्डेयलाई कुकको हातबाट क्याच गराउँदै इङ्ल्यान्डलाई जिताए ।

प्रकाशित: २० श्रावण २०७५ ०४:२५ आइतबार

स्टोक्सले खोसे भारतको जित