खेल

हिग्विन मिलानतिर, टुरिनमा बोनुचीको पुनरागमन

रोम – अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विन दूई क्लबबीच भएको तीन खेलाडी साटासाटको सहमतिअनुसार बिहीबार एसी मिलानसँग अनुबन्ध हुँदा लियोनार्दो बोनुची एक सिजनकै अन्तरमा युभेन्ट्स फर्किएका छन्।

मिलानले ३० वर्षे हिग्विनलाई १ करोड ८० लाख युरो खर्चँदै एक सिजनका लागि लोनमा भित्रयाएको हो। सम्झौताअनुसार क्लबले चाहेमा ३ करोड ६० लाख युरो थपेर मिलानले हिग्विनलाई थप एक सिजन आफूसँग राख्न पाउनेछ। इटालियन सेन्टर ब्याक बोनुची पुरानो क्लब युभेन्ट्स फर्किदा एट्लान्टाबाट सरुवा भएर टुरिन आएका उदीयमान माटिया काल्डारा मिलान जानेछन्। 

रियाल मड्रिडबाट आश्चर्यजनक रुपमा क्रिस्टियानो रोनाल्डो टुरिन आएपछि युभेन्ट्सका लागि ७६ खेल खेल्दै ४० गोल गरेका अर्जेन्टिनी फरवार्डले मिलानको बाटो तताएका हुन्। इटालियन सञ्चार माध्यमका अनुसार गत सिजन युइएफएको आर्थिक अनुसासन मिचिएवापत कार्वाहीमा परेको मिलानलाई हिग्विनको सरुवाले कुनै अप्ठेरोमा पार्ने छैन। 

युभेन्ट्स, नेपोली, एएस रोमा र सहरी प्रतिद्वन्द्वी इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा मिलानले गत सिजनमा इटालियन सिरी ‘ए’ मा ५६ गोलमात्र गरेको थियो। अत्यन्तै कमजोर प्रदर्शनमा सिमित मिलान युरोपा लिगमा सिमित हुँदा युभेन्ट्स, नेपोली, रोमा र इन्टर भने च्याम्पियन्स लिगलाई छानिएका थिए। 

‘नयाँ चुनौती सुरु भएको छ। त्यसलाई मैले अवसरका रुपमा लिँदै क्लब र आफ्नो व्यक्तिगत सफलताका लागि मिहिनेत गर्नुपर्छ,’ नयाँ क्लबमा मेडिकल गरेपछि हिग्विनले भने।

अर्जेन्टिनी फरवार्डको बर्हिगमनले बोनुचीलाई टुरिन फर्किने बाटो खुलेको थियो। बोनुचीले युभेन्ट्सबाट दुई पटक च्याम्पियन्स लिगको फाइनल खेल्नुका साथै ६ पटक घरेलु लिग उपाधि जितेका थिए। मिलानमा एक सिजन विताउने वित्तिकै ३१ वर्षे बोनुची युभेन्ट्स फर्किएका हुन्। 

मिलान भने गत सिजन नयाँ खेलाडीका लागि २० करोड युरो खर्च गरेर पनि छैटौं स्थानमा सिमित भएको थियो। मिलानले खर्च गरेको मोटो रकममध्ये ४ करोड २० लाख युरो बोनुचीका लागि तिरेको थियो। बोनुचीलाई मिलानमा कप्तानको जिम्मेवारी दिइएपनि उनी युभेन्ट्सबाट खेल्दाको जस्तो प्रभावशाली प्रदर्शन गर्नबाट चुकेका थिए।

‘टुरिन र युभेन्ट्स भनेको मेरा लागि घर जस्तै हो। यहाँ फर्किन पाउँदा म अत्यन्तै खुसी र उत्साहित छु,’ बोनुचीले भने। 

गत वर्ष अप्रिलमा चीनिया मालिकलाई क्लब बेचेयता मिलान समस्याले घेरिएको छ । पछिल्लो समयका कमजोर प्रदर्शनले क्लबको आर्थिक अवस्था थेग्न पनि कठिन हुने देखिएको थियो। मिलान मैदानमा सफल नतिजा निकाल्दै त्यसबाट मुक्ति पाउने योजनामा छ।

गतवर्ष आर्थिक अनुसासन मिचेको आरोपमा युइएफएले यो सिजनको युरोपा लिगमा मिलानमाथि प्रतिबन्ध लगाएको थियो। तर कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) ले युइएफएको निर्णय उल्टाएपछि टोलीले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता खेल्न पाउने भएको छ। 

प्रकाशित: १९ श्रावण २०७५ ०४:४५ शनिबार

हिग्विन मिलानतिर टुरिनमा बोनुचीको पुनरागमन