खेल

साउथगेटलाई दिने पारिश्रमिकको चिन्ता

लन्डन – इङ्ल्यान्ड फुटबल संघ (एफए) प्रशिक्षक गारेथ साउथगेटलाई २०२० को युरोपियन च्याम्पियनसिपपछि पनि जिम्मेवारीमा निरन्तता दिन चाहन्छ । तर एएफएलाई कुनै इङ्लिस प्रिमियर लिग क्लबले साउथगेटलाई मोटो पारिश्रमिकको प्रस्ताव गरेमा आफूहरू त्यसमा प्रतिस्पर्धा गर्न नसक्ने पनि राम्रोसँग थाहा छ।

इङ्ल्यान्ड टोलीलाई सधंै प्रमुख प्रतियोगिताको अभागी टोलीका रूपमा लिइन्थ्यो । तर साउथगेटले १९६६ पछि पहिलो पटक टोलीलाई रूस विश्वकपको सेमिफाइनलसम्म डोर्याउँदै उक्त छवि मेटाएका थिए । यद्यपि इङ्ल्यान्ड सेमिफाइनलमा भने क्रोएसियासँग २–१ ले पराजित भएको थियो।

‘गारेथ साउथगेट उत्कृष्ट प्रशिक्षक हुन् र उनको प्रशिक्षणमा इङ्ल्यान्ड टोलीले राम्रो प्रदर्शन गरिरहेको छ,’ एफएका कार्यकारी प्रमुख मार्टिन ग्लेनले भने, ‘हामी साउथगेट २०२० पछि पनि टोली प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेको हेर्न चाहन्छाैं । दुवै पक्ष यस विषयमा इच्छुक छन् ।  हाल साउथगेट बिदामा रहेकाले उनीसँग यसबारे छलफल भएको छैन । उनी लन्डन फर्किएलगत्तै हामी उनीसँग २०२० पछि पनि जिम्मेवारी सम्हाल्न प्रस्ताव गर्नेछाैं।’

‘तर सबै कुरा पारिश्रमिकमा भर पर्छ,’ ग्लेनले थपे, ‘हामी राष्ट्रिय प्रशिक्षकको पारिश्रमिकको विषयमा इङ्लिस प्रिमियर लिग क्लबसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भनेर सबैलाई थाहा छ।’

बेलायतका सञ्चारमाध्यमले केही साताअघि साउथगेटको पारिश्रमिक उल्लेख नगरे पनि उनले इङ्लिस प्रिमियर लिगका प्रशिक्षकको तुलनामा न्यून रहेको उल्लेख गरेका थिए।

२००९ मा मिडल्सबर्गबाट बर्खास्तीमा परेका साउथगेटले आफू क्लब प्रशिक्षणमा फर्कने इच्छा देखाउँदै आएका छन्।

 

प्रकाशित: १८ श्रावण २०७५ ०५:११ शुक्रबार

साउथगेटलाई दिने पारिश्रमिकको चिन्ता