काठमाडौं – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ।
अगस्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धाको खेलमा नेपालबाट चारचार महिला र पुरुष खेलाडीले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा पुरुष एकल कातामा परशुराम बास्तोला रहेका छन् भने ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले प्रतिस्र्धा गर्नेछन्।
यस्तै महिलामा चञ्चला दनुवारले एकल कातामा सहभागिता जनाउँदा अनु अधिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रीता कार्कीले ६८ केजीमाथिका स्पर्धामा सहभागिता जनाउनेछन्।
दीपक श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन्। नेपाली टोली जापान प्रशिक्षणपछि अगस्ट २२ मा इन्डोनेसिया जानेछ।
भारोत्तोलन टोली थाइल्यान्डतर्फ
काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने १६ सदस्यीय नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ।
प्रतियोगितामा भारोत्तोलनतर्फ ८ पुरुष र ७ महिला गरी १५ खेलाडीको सहभागिता रहनेछ । टोली प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् । नेपालले पुरुष र महिलामा समान २ गरी ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।
पुरुषतर्फ कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ सन्जु चौधरीले ५३ केजी र ७५ केजी तौलसमूहमा तारादेवी पुुुनले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगस्ट १७ तारिखसम्म प्रशिक्षणमा रहनेछ र १८ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनका स्पर्धाहरू अगस्ट २० देखि २७ तारिखसम्म चल्नेछन् । भारोत्तोलन टोली नेपालगन्जमा ७३ दिनको विशेष बन्द प्रशिक्षणपछि शनिबार काठमाडौं फर्किएको थियो।
१९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलो पटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता एक पटक १९९४ मा जापानको हिरोसिमा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन।
प्रकाशित: १७ श्रावण २०७५ ०५:३२ बिहीबार