खेल

कीर्तिमानै कीर्तिमान

काठमाडौंं – पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएकाले बुधबार नेपालका लागि सबै कीर्तिमान बनेको थियो। भिआरए क्रिकेटमा मैदानमा उत्रिएका ११ खेलाडीले नेपालबाट पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इतिहास बनाउन सफल भएका छन्।

त्यस्तै पारस खड्का नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको कप्तान बनेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बल फेस गर्ने ब्याट्सम्यान बने । उनले पहिलो बलमै तीन रन जोडेका थिए । यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो रन जोड्ने नेपाली खेलाडी बनेका छन्। 

पहिलो अर्धशतक बनाउने कीर्तिमान पनि ज्ञानेन्द्रकै नाममा सुरक्षित भएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो साझेदारी बनाउने कीर्तिमान पनि ज्ञोनन्द्र मल्ल र अनिलकुमार शाहको नाममा रह्यो।

एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो बलिङ गर्ने कीर्तिमान सोमपाल कामीको नाममा रह्यो । पहिलो बलिङ गर्ने खेलाडी बनेका सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो विकेट लिने खेलाडी पनि बनेका छन्।

कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ विकेट लिने पहिलो नेपाली खेलाडी बने । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट पहिलो चौका हान्ने खेलाडीको कीर्तिमान पनि ज्ञानेन्द्र मल्लकै नाममा सुरक्षित भएको छ । त्यस्तै पहिलो छक्का हान्ने खेलाडी दीपेन्द्रसिंह ऐरी बनेका छन्।

 

प्रकाशित: १७ श्रावण २०७५ ०४:५३ बिहीबार

कीर्तिमानै कीर्तिमान