खेल

डिसी युनाइटेडबाट रुनीको पहिलो गोल

वासिङ्टन (एएफपी) – इङ्ल्यान्डका पूर्वकप्तान वायन रुनीले अमेरिकी मेजर लिग सकरमा डिसी युनाइटेडका लागि पहिलो गोल गर्दा उनको टोलीले कोलोराडो -यापिड्समाथि २–१ को जित हासिल गरेको छ। तर त्यही खेलमा नाक भाँचिएका कारण रुनीले गोल र जितको खुसी भने राम्ररी मनाउन पाएनन्।

३२ वर्षे रुनीले म्यानचेस्टर युनाइटेडका पूर्व टिम सहयात्री टिम हवार्डविरुद्ध गोल गर्दै डिसी युनाइटेडलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयमा कोलोराडोका रक्षक एक्सेल एसजोबर्गसँग टाउको ठोक्किँदा रुनी रक्ताम्मे भएर मैदान छोड्न बाध्य भएका थिए।

‘डिसी युनाइटेडका लागि पहिलो गोल गर्न सक्दा खुसी छु,’ रुनीले ट्विट गरेका छन्। जारी सिजनका १८ खेलमा उनको टोलीले हासिल गरेको यो चौथो जित हो। ती चारमध्ये दुई जित रुनीले जुलाई १४ मा डेब्यु गरेयता हासिल गरिएका हुन्।

इङ्ल्यान्डका सर्वकालीन उच्च गोलकर्ता रुनीले भाँचिएको नाकमा पाँच टाका लगाउनुपरेको बताए। गत सिजन युनाइटेडबाट पुनरागमन गर्दै आफ्नै पुरानो क्लब एभर्टनबाट खेलेका रुनीले यसै महिनाको पूर्वाद्र्धमा साढे तीन वर्षका लागि १ करोड ३० लाख डलरमा डिसी युनाइटेडसँग सम्झौता गरेका थिए। सिजनका १६ खेल बाँकी रहँदा डिसी युनाइटेड प्लेअफ स्थानभन्दा ११ अंकले पछि छ।

प्रकाशित: १५ श्रावण २०७५ ०५:३९ मंगलबार

डिसी युनाइटेडबाट रुनीको पहिलो गोल