खेल

नयाँ रणनीतिमा खेल्न रामसे आतुर

साउन – आर्सनलका मिडफिल्डर आरोन रामसेले नयाँ प्रशिक्षक युनाई इमरेको नेतृत्वमा खेल्न आफू उत्सुक रहेको बताउँदै आगामी केही हप्तामा आफ्नो सम्झौता नवीकरणको विषयमा प्रक्रिया सुरु हुने अपेक्षा गरेका छन्। 

आर्सेन वेंगरको २२ वर्षे कार्यकालपछि नेतृत्व लिएका इमरेको आर्सनलमा पुनर्संरचना गर्ने योजनामा रामसेको भूमिका मुख्य रहने मानिएको छ । वेल्सका अन्तर्राष्ट्रिय खेलाडी रामसेको आर्सनलसँग सम्झौता अझै एक वर्ष बाँकी छ।

तथापि उनले नयँँ सम्झौताका लागि सहमत हुने आशा गरेका छन् । पेरिस सेन्ट जर्मनका पूर्वप्रशिक्षक इमरेका योजना र सोचबाट आफू उत्साहित रहेको बताउँदै रामसेले आर्सनल अब नयाँ उचाइ हासिल गर्न सफल हुने विश्वास व्यक्त गरे।

‘मेरो सम्झौताको अझै एक वर्ष बाँकी छ । म यहाँ खुसी छु । नयाँ सम्झौताका लागि हामीबीच सम्झौता भइसकेको छैन,’ नयाँ सिजनको तयारीका लागि टिमसँगै सिंगापुर पुगेका २७ वर्षे मिडफिल्डरले सम्झौता नवीकरणबारे भने, ‘नयाँ प्रशिक्षकको नेतृत्वमा यो सिजनमा हामीसामु थुप्रै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अवसर छ । यसबीचमा मेरो नयाँ सम्झौताको विषय पनि टुंगो लाग्नेछ । आउँदा केही साताभित्रै यसको संकेत देखिनेछ।’

रामसेले इमरेसँगको कुराकानी फुटबलमा मात्र केन्द्रित भएको बताए । आफू र प्रशिक्षकबीच अहिलेसम्म भएका कुराकानी गत सिजन इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा सीमित भएको आर्सनललाई च्याम्पियन्स लिग तथा उपाधि जित्ने बाटोमा फर्काउने विषयमा केन्द्रित भएको उनको भनाइ थियो। 

स्पेनिस प्रशिक्षक इमरेको उच्च गतिमा खेल्दै विपक्षीलाई  दबाबमा राख्ने तरिकाको विषयमा खेलाडीबीच छलफल हुने गरेको रामसेले बताए । ‘प्रशिक्षकको योजनाअनुसार खेल्न म प्रतीक्षारत छु, त्यो साँच्चै हाम्रा लागि उत्साहजनक हुनेछ,’ रामसेले भने, ‘सबै खेलाडी त्यसका लागि प्रतीक्षा गरिरहेका छन् । मेरो विचारमा त्यो नयाँ जोस र शैलीले हामीलाई सफलताको बाटोमा लग्नेछ । नयाँ प्रशिक्षकको आगमनपछि उनको सोचअनुसार पूरा टिमले लय समाउन जहिले पनि गाह्रो हुन्छ । तर म उनको सोचअनुसार खेल्न आतुर छु।’

अर्का मिडफिल्डर हेनरिक एमखिटार्यनले सेन्ट्रल मिडफिल्डमा रामसे ‘असाधारण’ खेलाडी रहेको बताउँदै उनले आक्रमणको अवसर मिलाउने र रक्षात्मक भूमिका दुवैमा उत्तिकै प्रभावकारी प्रदर्शन गर्न सक्ने बताए । आर्सनलको नयाँ सोचमा रामसे सबभन्दा उपयुक्त हुने विचार एमखिटार्यनले राखे। 

‘आरोनले नयाँ सम्झौता गरे भने हामी निक्कै खुसी हुनेछौं, किनकि उनी आर्सनलका लागि र युनाई इमरेको सोचअनुसारको खेलका लागि अत्यन्तै महत्वपूर्ण खेलाडी हुन्,’ एमखिटार्यनले भने। 

गोलकिपर पिटर चेकले पनि रामसेको आर्सनल सम्झौता चाँडोभन्दा चाँडो नवीकरण हुनुपर्ने बताए । ‘पक्कै पनि सबै उत्कृष्ट खेलाडीहरू हामीसँग हुन् भन्ने चाहना छ । रामसेको विषय पनि चाँडोभन्दा चाँडो टुंगिनुपर्छ,’ चेकले थपे। 

सिंगापुरमा इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत इमरेको आर्सनलले एट्लेटिको मड्रिड र पेरिस सेन्ट जर्मनको सामना गर्नेछ । ‘रामसे आर्सनलमा युनाई इमरेको सोचअनुसारको खेलका लागि अत्यन्तै महत्वपूर्ण खेलाडी हुन्।’

प्रकाशित: १३ श्रावण २०७५ ०५:१७ आइतबार

रणनीतिमा खेल्न रामसे आतुर