खेल

रूसी प्रशिक्षकको सम्झौता नवीकरण

मस्को – रूसी फुटबल टिमका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता दुई वर्षका लागि नवीकरण भएको छ । रूसले घरेलु मैदानमा सम्पन्न विश्वकपमा सोचेभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको भन्दै चेर्चेसोभको सम्झौता आउँदो दुई वर्षका लम्बिएको हो। 

‘रसियन फुटबल संघले प्रमुख प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभसँग दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

साथै संघले हालका लागि चेर्चेसोभसँग दुई वर्षको मात्र सम्झौता गरिए पनि टोलीले आगामी दिन गर्ने प्रदर्शनले उनीसँगको सम्झौता लम्बिन सक्ने पनि बताएको छ । संघले हालै सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गराउन सफल गराएको भन्दै उनलाई धन्यवाद पनि दिएको छ। 

रूसले विश्वकपको क्वार्टरफाइलनसम्मको यात्रा तय गरेको थियो । प्रतियोगितामा सहभागी ३२ टोलीमध्ये सबैभन्दा न्यून वरीयताक्रम रहेको रूसको प्रर्दशनपछि घरेलु समर्थकले देशैभर र्याली निकाल्दै टोलीको सम्मान गरेका थिए।

‘स्टानिस्लाभ चेर्चेसोभ र खेलाडीहरूप्रति संघ पूरै विश्वस्त छ । विश्व फुटबलको महाकुुम्भ विश्वकपमा टोलीले गरेको प्रदर्शन प्रशंसनीय छ । साथै  प्रतियोगितामा हात पारेका केही नतिजा ऐतिहासिक छन्,’ रसियन फुटबल संघका कार्यवाहक अध्यक्ष एलेक्सेन्डर अलिएभले भने । सम्झौता नवीकरणपछि चेर्चेसोभले रूस टोलीसँग पुनः जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए। 

 

प्रकाशित: १३ श्रावण २०७५ ०४:२६ आइतबार

रूसी प्रशिक्षकको सम्झौता नवीकरण