खेल

हैसियत बढाएर नेपाल लर्ड्समा

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का आइतबार लन्डनस्थित लर्ड्स क्रिकेट मैदानमा हुने मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्यान्ड्सविरुद्धको ट्वान्टी–२० खेलका लागि निकै उत्साहित छन्।

नहुन् पनि कसरी! क्रिकेटको मन्दिर मानिने लर्ड्समा खेल्न उत्साहित नहुने कमै खेलाडी होलान्। आजभन्दा ठीक २ वर्ष १० दिनअघि पनि नेपालले यही मैदानमा एमसिसीविरुद्ध नै खेलेको थियो। तर त्यति बेला र अहिलेको परिस्थिति फरक छ।

त्यति बेला नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापित भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा नेपाली क्रिकेट टोलीले एमसिसीविरुद्ध सेतो जर्सी लगाएर एकदिवसीय खेल खेलेको थियो। तर, अहिले नेपाल त्यही मैदानमा एमसिसीका साथै नेदरल्यान्ड्ससँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेल्दै छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहितको हैसियतमा अहिले नेपाल लन्डन पुगेको छ। 

‘पक्कै पनि हामी धेरै उत्साहित छौं। हामी २ वर्षअघि पनि यहाँ खेलेका थियौं। हामीले पुनः एक पटक मौका पाएका छौं,’ नेपालका कप्तान पारस खड्काले भने, ‘हामी एमसिसीसँगै नेदरल्यान्ड्सविरुद्ध पनि खेल्दै छौं। यो त्रिकोणात्मक खेलका लागि म धेरै उत्साहित छु। आशा छ हामी राम्रो प्रदर्शन गरेर विजयी नतिजा निकाल्छौं।’

दुई वर्षअघिको टोलीमा अहिले धेरै परिवर्तन भएको छ। त्यति बेलाका ओपनर अनिलकुमार मण्डल, सागर पुन, राजु रिजाल, विनोद भण्डारी टोलीमा अटाउन सकेका छैनन्। कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सन्दीप लामिछानेले यसअघि लर्ड्समा एमसिसीविरुद्ध खेलेका थिए। आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितापछि नेपालले एकदिवसीय मान्यता पाएपछि आइतबार लर्ड्समा हुने नेपाल र नेदरल्यान्ड्सबीचको खेललाई क्रिकेटको सर्वोच्च निकायले अन्तर्राष्ट्रिय मान्यता दिएको थियो।

नेपालले २०१३ को ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितामा तेस्रो हुदै बंगलादेशमा भएको विश्वकपमा स्थान बनाएसँगै नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। तर, २०१५ मा आयरल्यान्डमा सम्पन्न ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगितापछि नेपालले ट्वान्टी–२० अन्तर्राष्टिय मान्यता गुमाएको थियो। २०१५ जुलाईमा पपुवा न्युगिनीविरुद्धको खेलपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन। त्यसपछि नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।

‘होम अफ क्रिकेट भनिने लर्ड्समा खेल्न पाउनु मेरो लागि विशेष हो,’ नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले भने, ‘एमसिसी र नेदरल्यान्ड्सविरुद्धको खेलका लागि म उत्साहित छु।’

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले खेल्न लागेको यो अन्तर्राष्ट्रिय खेल हो। नेपाल आइतबार लर्ड्समा दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल एमसिसीसँग खेल्नेछ। त्यसको १ घण्टा नबित्दै नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । एमसिसीको नेतृत्व श्रीलंकाका पूर्वकप्तान माहेला जयवद्र्धनेले गर्नेछन्। अन्य खेलाडीमा कासिफ अली, डेलान बज, वरूण चोपरा, म्याट कोल्स, डान डथवाइट, एलेस्डाइर इभान्स, जेम्स फोस्टर, पिटर मुर, टम स्मिथ, जोनाथन ट्रोट, मार्क वाट रहनेछन्। 

नेपाली टोलीमा पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, ललित भण्डारी, शक्ति गौचन, करण केसी, सोमपाल कामी, सुवास खकुरेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, ललित राजवंशी, बसन्त रेग्मी, आरिफ शेख र शरद भेषावकर रहेका छन्। त्यस्तै नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, स्कट इडवार्ड, क्लेटन फ्लोएड, फ्रेडरिक क्लासेन, बास डी लीड, पाउल भान मीकरेन, म्याक्स ओ ‘डाउड, हिडे ओभरडक, मिचेल रिपोन, शाने स्नाटर, टोनी स्टा रायन टेन डोसचट टोविस भिसे रहेका छन्।

दुई वर्षअघि एमसिसीविरुद्ध खेल्न लर्ड्स पुगेको नेपाल एमसिसीका साथै नेदरल्यान्ड्ससँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहितको हैसियतमा अहिले नेपाल लन्डन पुगेको छ।

प्रकाशित: १३ श्रावण २०७५ ०७:०९ आइतबार

हैसियत बढाएर नेपाल लर्ड्समा