खेल

समर्थकलाई ओजिलको धन्यवाद

सिंगापुर (एएफपी) – आर्सनलका मिडफिल्डर मेसुट ओजिलले क्लब समर्थकलाई आफूप्रति देखाएको माया र सम्मानका लागि धन्यवाद दिएका छन्।

जर्मनीका ओजिलले आफूलाई रंगभेदी व्यवहारबाट अपमानित गरिएको भन्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। साथै ओजिलले आफूमाथि लामो समय देखि दूव्र्यवहार हुँदा पनि जर्मन फुटबल संघ(डिएफबी) का प्रमूखले साथ नदिएको आरोप लगाएका थिए।

सिजनपूर्वको अभ्यासका लागि सिंगापुर भ्रमणमा रहेको आर्सनलले शुक्रबार एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिँदा ओजिल बेन्चमै भए पनि मैदानमा रहेको डिस्प्लेमा उनको तस्बिर देखाउदा दर्शकहरुले उनको समर्थनमा चर्को नारा लगाएका थिए।

‘सिंगापुरमा समर्थकले मप्रति देखाएको सम्मानका लागि धन्यवाद दिन चाहन्छु,’ २९ वर्षे ओजिलले दर्र्शकदिर्घातिर फर्किएर हात हल्लाउदै गरेको आफ्नो तस्बिर ट्विट गरेका छन्।

इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत एट्लेटिकोविरुद्ध निर्धारित समयको खेल १–१ को बराबरमिा सकिएपछि भएको पेनाल्टी सुटआउटमा आर्सनल ३–१ ले पराजित भएको थियो।

यसअघि बिहीबार डिएफबीका प्रमूख रेनार्ड ग्रिन्डेलले मेसुट ओजिलमाथि रंगभेदी व्यवहार गरेको आरोप अस्वीकार गर्दै राष्ट्रिय टोलीका मिडफिल्डरको रक्षाका लागि भने पर्याप्त प्रभावकारी काम गर्न नसकेको स्विकारेका थिए। 

ग्रिन्डेलले टर्किस राष्ट्रपति रेसेप टायिप इर्डोगानसँग ओजिलको तस्बिरको विषयमा उत्पन्न विवादमा सकारात्मक हस्तक्षेप नगर्नु आफ्नो कमजोरी भएको स्विकारेका थिए। त्यही तस्बिर सार्वजनिक भएपछि धेरैले जर्मन फुटबलप्रति ओजिलको प्रतिबद्धताबारे प्रश्न उठाएका थिए। 

विश्वकपमा सहभागि भएका कारण ढिलो गरि अभ्यासमा फर्किएका ओजिल आर्सनलको टोलीमा स्थान बनाउन भने असफल भए।

आर्सनलका प्रशिक्षक युनाई इमरेले ओजिलसँग तत्काल क्लबलाई दिन केही नभए पनि आफ्नो टोलीका प्रत्येक सदस्य उनलाई सम्मान दिन आतुर रहेको बताएका थिए।

त्यस्तै समाजिक संचालहरुमा ‘स्ट्यान्ड विथ ओजिल’ र ‘से नो टु रेसिजम’ जस्ता ह्यासट्याग चर्चित बनिरहेका छन्। ‘पक्कै पनि सबै ओजिललाई सम्मान गर्छन्। हामी उनको साथमा छाैं र उनलाई सहयोग गर्न चाहन्छाैं,’ आर्सनलका मिडफिल्डर हेनरिक एमखिटार्यनले भने, ‘आर्सनलमा धेरै खेलाडी र कर्मचारी विदेशी छन्। तर पनि हामी एकै परिवारको सदस्य सरह छाैं। जसमा तपाई कुन राष्ट्रबाट प्रतिनिधित्व गरिहरनु भएको छ भन्ने कुराको कुनै अर्थ हुदैन।’

 

प्रकाशित: १२ श्रावण २०७५ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App