खेल

फुटबल टोली थाइल्यान्ड जाँदै

काठमाडौं – एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली १० दिने अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ।

मुख्य प्रशिक्षक ग्योतोकु कोजीले १० दिने क्याम्पका लागि २९ खेलाडीको नामसमेत सार्वजनिक गरेका छन् । साउन १८ गते शुक्रबार १० दिने अभ्यासका लागि नेपाली टोली थाइल्यान्ड जानेछ।

एसियाली खेलकुद र बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा राम्रो नतिजा हात पार्नका लािग नेपाली राष्ट्रिय टोली थाइल्यान्ड भ्रमण गर्न लागेको हो । भ्रमणमा नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

साउन २२ गते थाइल्यान्डको एउटा ए डिभिजन क्लबसँग पहिलो मैत्रीपूर्ण अभ्यास खेल खेल्नेछ भने थाइल्यान्डको राष्ट्रिय टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै एसियाली खेलकुदमा सहभागिता जनाउन उतैबाट इन्डोनेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले जानकारी दिए । मैत्रीपूर्ण खेल खेल्ने थाई क्लबको नाम भने अहिलेसम्म टुंगो लागिनसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए।

यु–२३ टिमले खेल्ने एसियाली खेलकुदमा नेपाल समूह डी मा छ । समूह डी मा नेपाल, जापान, भियतनाम र पाकिस्तान छन् । एसियाली खेलकुदमा २३ वर्षमाथिका ३ सिनियर खेलाडी राख्ने पाउने प्रावधानअनुसार राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई समावेश गरिएको छ । यसअघि भरत खवासलाई टिममा राखिए पनि चोटका कारण उनको स्थानमा विशाल राईलाई समावेश गरिएको हो।

यस्तै बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा आयोजक बंगलादेशसहित भुटान र पाकिस्तान छन् । साफ च्याम्पियनसिपमा भदौ १९ गतेबाट हुँदै छ । प्रतियोगिताका लागि भनेर नेपालले पछिल्लो ३ माहिनादेखि काठमाडौंमा तयारी गरिरहेको छ।

नेपाली टोली : अभिषेक रिजाल, आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास, विकेश कुथु, विमल घर्तीमगर, विराज महर्जन, विशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरब बुढाथोकी, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रविन श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ, सोजित गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, तेज तामाङ, छिरिङ गुरुङ

प्रकाशित: ११ श्रावण २०७५ ०७:३६ शुक्रबार

फुटबल टोली थाइल्यान्ड जाँदै