खेल

पहिलाे रोजाइका लागि संघर्ष

सिंगापुर – आर्सनलका गोलकिपर पिटर चेकले बुधबार स्टाम्पोर्ड ब्रिज फर्कने हल्ला निराधार भएको भन्दै आफू पहिलो रोजाइको गोलकिपरका रूपमा टोलीमा स्थान पक्का गर्न लडिरहने बताएका छन्।

गत सिजन राम्रो प्रदर्शन गर्न नसक्नु र नयाँ प्रशिक्षक युनाई इमरेले बायर लेभरकुसेनका गोलकिपर बर्नाड लेनोलाई अनुबन्धन गरेपछि ३७ वर्षे चेकको पहिलो रोजाइमा पर्ने सम्भवना न्यून भएको अनुमान गरिएको छ। 

तर चेल्सीमा रहँदा थियाबाउट कोर्टोइसलाई पहिलो रोजाइ सुम्पिएका चेकले आफ्ना लागि पहिलो रोजाइको गोलकिपरका लागि प्रतिस्पर्धा गर्नु कुनै नौलो कुरा नभएकाले निरन्तर आफूलाई प्रमाणित गर्न लागिररहने बताए।

‘खेलजीवनमा मैले पहिलो रोजाइको गोलकिपर बन्न धेरै पटक प्रतिस्पर्धा गरिसकें र यो भइ नै रहन्छ,’ चेकले भने, ‘त्यसका लागि कुनै पनि खेलाडीले गर्ने भनेको निरन्तरको कडा मिहिनेत र आफूलाई प्रमाणित गर्नु हो । म अहिले त्यही गरिरहेको छु । तपार्इंले आफूलाई प्रमाणित गर्नुभयो भने टोलीमा स्थान सुरक्षित हुने हो अन्यथा तपाईंसँग बेन्चमा बस्नुको कुनै विकल्प छैन।’

बेलायतका सञ्चारमाध्यमले यसै महिना रूसमा सम्पन्न विश्व कपमा गोल्डेन गोल्भ्स जितेका चेल्सीका कोर्टोइस स्पेनिस क्लब रियाल मड्रिड जाने तयारीमा रहेको भन्दै चेक स्टाम्फोर्ड ब्रिज फर्कने चर्चा गरेका थिए । तर चेकले आफूलाई चेल्सीबाट कुनै प्रस्ताव नआएको बताए । उनको आर्सनलसँगको सम्झौता अझै एक वर्ष बाँकी छ।

‘मेरो आर्सनलसँगको सम्झौता अझै एक वर्ष बाँकी छ । म यस सिजन आफूलाई प्रमाणित गर्न केन्द्रित छु । किनभने टोलीमा पहिलो रोजाइको गोलकिपरको विकल्प धेरै छन्,’ चेकले थपे, ‘मेरो उद्देश्य पहिलो रोजाइमा पर्नु हो । त्यसैले मैले अन्यत्र सरुवाका बारेमा चलेका हल्लालाई ध्यान दिएको छैन।’

प्रकाशित: १० श्रावण २०७५ ०५:२७ बिहीबार

पहिलाे रोजाइका लागि संघर्ष