काठमाडौ - नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौँमा बसेको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बसेको बैठकमा भुटानबाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी छ राष्ट्र सहभागी थिए।
सो अवसरमा अध्यक्ष श्रेष्ठले एनओसी र राष्ट्रिय खेल संघहरूको ध्यान १३ औँ सागमा पूर्णरुपमा केन्द्रित रहेको जानकारी गराउँदै सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए। सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउँदै श्रेष्ठले विगतको तुलनामा खेलकुदको बजेट झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिए।
दशरथ रंगशालाको निरीक्षण
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरूले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण समेत गरेका छन्। प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै कभर्ड हल र टेनिस कोर्टको निरीक्षण पनि गरेको थियो। रासस
प्रकाशित: ५ श्रावण २०७५ १४:३७ शनिबार