खेल

विश्वकपबाट क्लब प्रभावित : ग्वार्डिओला

सिकागो – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विश्वकपका कारण तयारीमा असर परेको भन्दै इङलिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्य प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

क्लबका अधिकांंश पहिलो रोजाईका खेलाडी विश्वकपका कारण विदामा रहेकाले ग्वार्डिओला युवा टोलीका साथ वार्षिक क्यालेन्डर अनुसार प्रि–सिजनका लागि अमेरिका भ्रमणमा निस्किएका छन् । उनको टोलीले इन्टरनेसनल च्याम्पियनसिपमा बोरुसिया डर्टमन्ड, लिभरपुल र बायर्न म्युनिखसँग खेल्नेछ।

सिटीका स्टार खेलाडी केविन डी बु्रयना, सर्जियो अग्विरो, भिन्सेन्ट कोम्पनी, इडर्सन, डेविड सिल्भा, ग्याब्रियल जिसस, रहिम स्टर्लिङ, काइल वाल्कर र जोन स्टोन्स सिटीको अमेरिका भ्रमण टोलीमा हुने छैनन । उनीहरु प्रिमियर लिग सुरु हुन एक साता अघि मात्र क्लबको प्रशिक्षणमा सहभागी हुनेछन्।

विश्वकपले लिग तयारीमा असर पारिरहेको बेला ग्वार्डिओलाका लागि खेलाडी सुरुवा बजार पनि प्रभावकारी बन्न सकेको छैन । नेपोलीका मिडफिल्डर जर्जिन्हो चेल्सी भित्रिएसँगै उनलाई अनुबन्ध गर्ने योजना विफल भएपछि ग्वार्डिओला गत सिजनकै टोलीका साथ उपाधि रक्षाको लक्ष्यमा छन् । यद्यपि क्लबले गत साता लेस्टर सिटीका रियाद माहरेजलाई ६ करोड पाउन्डमा अनुबन्ध गरेको थियो । ग्वार्डिओलाले गत सिजन नै महारेजलाई क्लबमा ल्याउन चाहे पनि लेस्टरले अन्तिम समयमा सिटीको प्रस्ताव अस्विकार गरेको थियो।

खेलाडी अभ्यासका लागि तयार हुनपर्छ । तर यथार्थ आफ्नो ठाउँमा छ । विश्वकपमा सहभागिता जनाएका खेलाडीहरु थकित छन् र उनीहरु आर्सनलविरुद्ध हुने कम्न्युनिटी शिल्डका लागि क्लबमा फर्कने सम्भावना न्युन छ । उनीहरु त्यतिन्जेल बिदामा नै हुनेछन्।

हामीसँग गत सिजन लिगको उपाधि जित्दाको अविस्मरणीय क्षण अझै ताजा छ,’ ग्वार्डिओलाले भने, ‘तर उपाधि रक्षाका लागि विगतको प्रदर्शनले कुनैे अर्थ राख्दैन । हामीले पुनः सुरुआतबाटै उत्कृष्ट लयलाई निरन्तरता दिनु आवश्यक छ । उनीहरु खेल्न तयार भए हामी पर्खने छौ । उनीहरु मानसिक र शारिरिक रुपमा तयार भएमात्र टोलीमा समावेश गरिने छ । एकेडेमीका युवा खेलाडी प्रशिक्षणमा सहमागी भइरहेका छन् । छोटो समयको तयारी भए पनि उनीहरुसँगको क्षण निकै फलदायी बन्यो।

म निराश छु । हामीले उनलाई अनुबन्धन गर्ने प्रयास गरे पनि सफल हुन सकेनाैं जर्जिन्होलाई क्लबमा भित्रयाउन नसकेकोमा चिन्तित ग्वार्डिओलाले थपे, तर खेलाडीलाई आफ्नो भविष्यका बारेमा निर्णय लिने अधिकार छ । उनीहरु जहाँ मन पर्छ त्यही जान सक्छन् । जर्जिन्होले चेल्सी रोजे किनभने उनका पूर्व प्रशिक्षक माउरिसियो सारी स्पाम्फोर्ड ब्रिजमा प्रशिक्षकका रुपमा भित्रिएका छन् । उनको यो व्यक्तिगत निर्णय हो । उनको सिटी नआउने निर्णयलाई म गतल भन्दिन, किनभने उनले आफ्नो इच्छा अनुसारको निर्णय गरे।

एक सिजनका लागि लोनमा वेष्ट ह्याम गएका इङ्ल्यान्डका पूर्व गोलकिपर जो हार्ट यस सिजन सिटीमा फर्किसकेका छन् । त्यसैले अमेरिका भ्रमणमा हार्टले सिटीको पोस्ट सम्हाल्ने सम्भावना बलियो छ । हार्टले पछिल्लो पटक २०१६ अगस्टमा च्याम्पियन्स लिग छनोटअन्तर्गत स्टिउवा बुखारेस्टविरुद्ध सिटीको प्रतिनिधित्व गरेका थिए । तर ग्वार्डिओलाको आमगनपछि भने हार्ट टोलीमा स्थान बनाउन असफल भएका थिए।

प्रकाशित: ५ श्रावण २०७५ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App