खेल

खेलाडी थकित हुने दाबी

योर्गान क्लोप

लन्डन – लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले अन्तर्राष्ट्रिय फुटबल खेल्न खेलाडी बिदामा जाँदा थकित हुने भएकाले आगामी सिजन क्लबहरूलाई अप्ठ्यारो पर्न सक्ने बताएका छन्।

विश्वकपका दौरान बिदामा रहेका कारण लिभरपुलका स्टार खेलाडीहरुको अनुपस्थितिमै क्लोपले इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु गर्न लागेका छन् । प्रिमियर लिग अगस्ट १० बाट सुरु हुने भएकाले रूसमा खेलेका खेलाडी आराम गर्न र क्लबमा फर्किएर फिट हुनका लागि अझै समय रहेको छ।

सेप्टेम्बर ६ बाट सुरु हुने युइएफएको नयाँ नेसन लिगमा सहभागी हुनुपर्ने भएकाले क्लबहरू थप समस्यामा हुनेछन् । फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई प्रतिस्थापन गर्ने नेसन लिगको विजेता २०१९ जुनमा घोषणा हुनेछ । अन्तर्राष्टिय खेलका कारण स्टार खेलाडीहरुलाई चोट लाग्यो भने ठीक हुन समय लाग्ने हुनाले क्लबहरूले त्यसको ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ । यसबाट क्लोप र अन्य क्लबहरू पनि चिन्तित बनेका छन्।

‘फुटबल राजनीतिमा मेरो कुनै सरोकार छैन । तर उनीहरूले नेसन कपलाई यति धेरै महत्व दिएमा विश्वकप खेलेर फर्किएका सबै खेलाडी पुनः छुट्टीमा जानेछन्,’ क्लोपले भने, ‘हामीसँग विश्वकपको सेमिफाइनल खेल्ने ४ खेलाडी छन् । हामी यतिसम्म व्यवस्थापन गर्न सक्छौं । टोटेनह्यामका ९ खेलाडी छन् । उनीहरूले कसरी त्यसको व्यवस्थापन गर्छन् मैले बुझ्न सकेको छैन । यो ठूलो चुनौती हो र यसको व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ।’

युइएफएले आफ्ना सदस्य राष्ट्रबीच सुरु गर्न लागेको नेसन लिगलाई परिवर्तन गर्नुपर्ने भन्दै लिभरपुलका प्रशक्षिक क्लोपले थपे, ‘उनीहरूले विश्वकप खेले । अब नेसन कप, अर्को समरमा नेसन कपको फाइनल हुन्छ । जुन साँच्चिकै नसुहाउँदो छ । अहिले फुटबलमा सबै कुरा महत्वपूर्ण छ । पछि हामीले त्यसको असर धेरै थोरै भोग्नुपर्छ।’

लिभरपुलले नयाँ सिजनको पहिलो खेल वेस्टह्यामविरुद्ध खेल्दा क्लोपसँग क्रोएसियाका रक्षक डेजान लोभरेन (विश्वपकको फाइनल खेलेका) र इङ्ल्यान्डका मिड्फिल्डर जोर्डन हेन्डरसन (सेमिफाइनल खेलेका) साथमा हुने छैनन्।

‘हेन्डरसनलाई बिदा चाहिएको छ । त्यसैले उनी अगस्ट ५ मा फर्किन्छन् । डेजानको क्रोएसियामा विजयोत्सव सकिएको छैन । उनी अगस्ट ६ मा आइपुग्छन्,’ क्लोपले थपे, ‘तीन हप्ताको लामो बिदाबाट फर्किएर ५ दिन मात्र अभ्यास गर्न पाउँछन् । यी दुईलाई खेलाउने बारे हामीले सोच्नु हुँदैन।’

डेजानको स्थानमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले खेल्ने सम्भावना छ । १९ वर्षे आर्नोल्डले इङ्ल्यान्डबाट एक खेल मात्र खेलेका छन्।

प्रकाशित: ४ श्रावण २०७५ ०४:२९ शुक्रबार

खेलाडी थकित हुने दाबी