खेल

रूस विश्वकपः अकल्पित सफलता

काठमाडौं – रूसमा अघिल्लो महिना विश्वकपको २१औं संस्करण सुरु हुँदासम्म पनि साबिक विजेता जर्मनी पहिलो चरणबाटै घर फर्किएला भन्ने कसैले कल्पना गरेका थिएनन्।

एक वर्षअघि रूसमै भएको अन्तरमहादेशीय कपमा दोस्रो रोजाईको टोली पठाए पनि उपाधि जितेको जर्मनी, जसले चार वर्षअघि ब्राजिलमा उपाधि जित्नेवित्तिकै त्यसको खुसी मनाउनभन्दा बढि यसपालीको तयारीमा आफूलाई केन्द्रित गरेको थियो, त्यस्तो टोली मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै समूह चरणबाटै बर्लिनको बाटो तताउला भनेर कसरी सोच्नु ?

वर्तमान विश्व फुटबलका सबभन्दा प्रतिभावान खेलाडी लियोनेल मेसीको अर्जेन्टिना ‘मेसी म्याजिक’ विना नै अन्तिम १६बाट घर फर्केला भनेर पनि थोरैलेमात्र सोचेका थिए । पाँच पटकको विश्व विजेता ब्राजिल क्वार्टरफाइनल तथा पूर्वविजेता स्पेन दोस्रो चरणबाटै बाहिरिने कल्पना गर्न पनि फुटबल पण्डितलाई सजिलो थिएन।

फिफा विश्व वरियताक्रमको ७०औं स्थानमा रहेको टोली रूस विश्वकपमा सहभागि ३२ देशमध्ये सबभन्दा तल थियो । विश्वकपअघि खेलेका सात खेलमा लगातार जित निकाल्न असफल रूसलाई आयोजक नभएको भए यसपाली विश्वकपमा नदेख्न पनि सकिन्थ्यो । त्यस्तो टोली क्वार्टरफाइनलसम्म पुग्ला भनेर पनि कमैले आशा गरेका थिए।

इङ्लिस मिडिया र समर्थक समेत उदासिन रहेको बेला इङ्ल्यान्ड सेमिफाइनल पुग्नु, इङ्लिस कप्तान ह्यारी केनले गोल्डेन बुट जित्नु, क्रोएसिया फाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी हुने कुरा पनि थोरैको मात्र कल्पनामा थियो ।
तर जसले जस्तो कल्पना गरे पनि, पण्डितहरुको विश्लेशणले जे भने पनि धेरैलाई झट्का दिँदै रूसमा आइतबार विश्वकपको २१औं संस्करण भव्यतापूर्वक सम्पन्न भएको छ।

फ्रान्स, क्रोएसिया, बेल्जियम र इङल्यान्डले अन्तिम चारसम्मको यात्रा गरेका छन् । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि उचालेको छ भने युवा इङ्लिस टोलीको जोश सेमिफाइनलमै सकिएको संस्करणमा बेल्जियमले तेस्रो स्थान हासिल गरेको छ।

विश्वकप भनेकै त्यस्तै हो । फुटबल विज्ञ सञ्जिव मिश्रको भनाई मान्ने हो भने यस्तै अनपेक्षित नतिजाको रोमाञ्च तथा स्थापित स्टार र टिमलाई नयाँले विस्थापित गर्ने कारण नै फुटबल विश्वकप सम्पूर्ण विश्वको साझा महोत्सवका रुपमा स्थापित भएको हो।

‘सोचेकै जस्तो नतिजा आउने र कागजमा ठूला मानिएका टिमले पूर्वानुमानअनुसार सबैलाई हराउने हो भने विश्वकपको रोमाञ्च कायम रहन्न,’ नागरिकका स्तम्भकार मिश्रले भने, ‘विश्वकपमा छानिएर आउने सबै ३२ टोलीको स्तरमा धेरै ठूलो अन्तर हुँदैन । राम्रा टिममात्र विश्वकपमा स्थान सुरक्षित गर्न सक्छन् । चिली, अमेरिका, इटाली र नेदरल्यान्ड्सजस्ता टिम छनोट हुनै नसकेको प्रशंग सम्झियो भने पनि विश्वकपमा आउने टोली कति बलिया हुन्छन् भनेर अनुमान गर्न सकिन्छ।’

मिश्रले भनेझै विश्वकप सुरु हुनुपूर्व जर्मनी, ब्राजिल, स्पेन, अर्जेन्टिना र फ्रान्सलाई उपाधि दाबेदारका रुपमा लिइएको थियो । बेल्जियम, क्रोएसिया, उरुग्वे र इङ्ल्यान्डहरु पण्डितको नजरमा दाबेदारलाई चुनौती दिनसक्ने टिमका रुपमामात्र सिमित थिए । तर ठिक विपरित प्रतियोगिताअघिका पाँच मुख्य दाबेदारमध्ये चार टिम सेमिफाइनल पुग्न समेत सफल भएनन्।

‘फुटबलको रोमाञ्च भनेकै त्यही हो । टिममात्र होइन, व्यक्तिगत खेलाडीको हकमा पनि त्यस्तै भएको छ । मेसी, रोनाल्डो, मोहम्मद सालाह र लुइस स्वारेजबाट धेरै अपेक्षा गरिएको थियो । यिनमा रोनाल्डोले चार गोल गरे पनि टिमलाई धेरै अगाडि बढाउन सकेनन् । मेसीको जादु चल्न सकेन, सालाह र स्वारेज पनि टिमको लागि सफलताको प्रेरणा बन्न सकेनन्,’ मिश्रले भने, ‘ठिक विपरित ह्यारी केन, किलियन एमबाप्पे, डेनिस चेरिसेभको प्रदर्शन उपल्लो दर्जाको रहयो । लुका मोडरिच, एन्टोनी ग्रिजम्यान, इडेन हाजार्ड, केभिन डी ब्रुयना, थियाबाउट कोर्टोइस, इभान राकेटिच, रोमेलु लुकाकुहरुले उनीहरुमाथिको अपेक्षामा न्याय गरे।’

विश्व फुटबलको सबभन्दा ठूलो मेला चार वर्षका लागि विदा हुँदा त्यतिन्जेलसम्मका लागि पर्याप्त स्मरणहरु छोडेर गएको छ । अन्तिम १६अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको रोमाञ्चक प्रतिस्पर्धा, अर्जेन्टिनालाई बराबरीमा रोक्ने आइसल्यान्डको बहादुरी, नाइजेरियाको युवा टोली, एमबाप्पेको तिब्र गति, जापानको भलाद्मीपना, इङल्यान्डको एथलेटिक्स फुटबल, गारेथ साउथगेटको वेस्ट कोट, भिएआर प्रयोगमा मिश्रित प्रतिक्रिया, नवप्रवेशी पानामाको पहिलो विश्वकप गोल र त्यसमा मनाइएको खुसी रूस २०१८ का थुप्रै स्मरणीय स्मरणमध्ये केही हुन्।

मेसी, रोनाल्डो, सर्जियो रामोस, सालाह, नेइमार, फिलिप कौटिन्हो, स्वारेजजस्ता सुपरस्टारहरु आफ्नो टोलीका लागि प्रेरणाको स्रोत बन्न असफल भएको संस्करणबाट उदाएका केन, एमबाप्पे र चेरिसेभ तथा नाइजेरियाली टिमका औसत स्टारहरुले आफूलाई भविश्यको सुपरस्टारका रुपमा उभ्याएका छन् । मेसी र रोनाल्डोले पछिल्लो एक दशक उच्चस्तरीय फुटबलबाट विश्वभरका समर्थकलाई दिएको रोमाञ्च अबका दिनमा नयाँ खेलाडीबाट अपेक्षा गर्न सकिने संकेत विश्वकपले दिएको छ।

सफल आयोजना:
विश्व फुटबलको सर्बोच्च निकाय फिफाले १०१० मा आन्तरिक मतदानबाट २०१८ को संस्करण रुस तथा २०२२ को विश्वकप कतारलाई आयोजना अधिकार दिएको थियो । अमेरिका, बेलायतलगायतका महाशक्ति राष्ट्रको समेत दाबी रहेका दुई संस्करण आयोजनाको अधिकार अनपेक्षित रुपमा रुस र कतारले पाएपछि अन्तर्राष्ट्रिय राजनीतिसँगै फिफाको शक्ति संघर्षले पनि नयाँ मोड लियो।

तत्कालिन अध्यक्ष सेप ब्लाटरको एकछत्र राज रहेको फिफामा त्यसपछि यिनै दुई विश्वकप आयोजक छानेको विषय ठूलो विवादको विषय बन्यो । भ्रष्टाचार र घुस लेनदेनका चर्चा चुलिँदा रूसबाट आयोजना अधिकार खोस्नुपर्छ भन्नेसम्मका आवाज चर्को रुपमा उठे।

त्यही विवादले ठूलो रुप लिँदा फिफा अध्यक्ष ब्लाटरसहित उनको उत्तराधिकारीका रुपमा लिइएका युइएफएका तत्कालिन अध्यक्ष मिचेल प्लाटिनी, एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष कतारी नागरिक मोहम्मद बिन हमाम, कन्काकाफका अध्यक्ष ज्याक वार्नर, एएफसीका उपाध्यक्ष मणिलाल फर्नान्डोलगायत हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष एवं एएफसीका उपाध्यक्ष गणेश थापासम्मको फुटबल प्रशासनमा करियर अन्त्य गर्याे।

अझ अन्तर्राष्ट्रिय राजनीतिले रूसलाई एक्ल्याउँदा पछिल्ला वर्षहरुमा विश्वकप आयोजना झनै कठिन हुने चर्चा चलाइएको थियो । २०१४ देखि अमेरिकी नेतृत्वमा बेलायत, फ्रान्स, जर्मनीलगायतका युरोपेली देशहरुले नाकाबन्दी लगाएपछि रूसको आर्थिक अवस्था खस्कँदो थियो । त्यसमाथि रूसीहरु रुखो स्वभावका छन्, आक्रामक छन्, विदेशीप्रति मित्रवत छैनन, भाषाको समस्या ठूलो छ, आर्थिक समस्याका कारण विश्वकप आयोजनामा धेरै कन्जुस्याई हुनेछन् जस्ता चासो जगाइएको थियो । तर रुसले ति सब अनुमानहरुलाई गलत साबित गर्दै इतिहासकै भव्य र सफल प्रतियोगिता आयोजना गरेर देखायो।

खेलकुदलाई समाज र राष्ट्रको दर्पण मानिन्छ । खेलकुदले कुनै पनि देशको सभ्यता, संवृद्धि र संस्कार देखाउँछ भनिन्छ । रूसले पहिलो पटक विश्वकप आयोजना गर्न पाएको अवसरलाई विश्वसामू आफ्नो सभ्यता, संवृद्धि र संस्कार देखाएर छवि सुधार्ने मौकाका रुपमा सफलतापूर्वक उपयोग ग¥यो । राष्ट्रपति भ्लादिमिर पुटिनले भनेजस्तै रूस मित्रवत देश हो भनेर सन्देश दियो । प्रत्येक रूसीले विदेशीलाई मुस्कानसहितको स्वागत गरेर विश्व मानचित्रमा नकारात्मक छवि परिवर्तन गर्न सफल भए।

भिएआर विवाद ः
यही विश्वकपबाट फिफाले भिडियो सहायक रेफ्री (भिएआर) प्रविधिको प्रयोग सुरु गर्याे । प्रविधिले फुटबलको वास्तविक रोमाञ्च समाप्त गर्छ भन्ने र गल्ती कम गर्ने भएकाले यसको प्रयोग आवश्यक छ भन्ने बीचको फरक तर्कहरु विश्वकप अवधिभर चर्चाको विषय बन्यो।

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ तथा थिएरी अनरीको हाते गोल सम्झँदै एकथरी पण्डितहरुले अब त्यस्ता कथा फुटबलमा नहुने भन्दै भिएआरको विरोध गरे । विरोध गर्नेको अर्को तर्क थियो, ‘भिएआरले फुटबलको स्वभाविक मोमेन्टममा भाँजो हाल्छ।’

फिफाले भने भिएआर प्रविधि ९७ प्रतिसत सफल भएको भन्दै यसको पक्षमा वहस जारी राखेको छ । विवादास्पद निर्णयमा रेफ्रीले प्रयोग गर्न पाउने यो प्रविधिले रुस विश्वकपमा केही निर्णयलाई सदर गरेको छ भने केही निर्णयलाई उल्टायो । यसको प्रयोगले पेनाल्टी संख्यामा भने बृद्धि भयो।

नवप्रवेशीको प्रदर्शन ः
रूस विश्वकपमा यसपाली पानामा र आइसल्यान्डले पहिलो पटक सहभागिता जनाए । दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियन आइसल्यान्डले महारथी इङ्ल्यान्डलाई पराजित गरेर क्वार्टरफाइनल पुग्दै अन्तर्राष्ट्रिय फुटबलमा जब्बर टोलीको छवि बनाएको थियो।

पछिल्ला समय राम्रो प्रदर्शन गर्दै आएको टोलीले त्यही छविलाई विश्वकपमा पनि निरन्तरता दियो । समूह चरणबाट माथि उठन नसके पनि पहिलो खेलमै अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेर आइसल्यान्डले सनसनी मच्चाएको थियो । त्यसपछि नाइजेरिया र क्रोएसियासँग लगातार पराजित हुँदै टोली समूह चरणबाटै घर फर्कियो।

मध्य अमेरिकी देश पानामाका लागि पनि विश्वकप स्मरणीय रहयो । अमेरिकालाई निराश पार्दै रूसको यात्रा पक्का गरेको टोलीले समूह चरणका तीनवटै खेलमा पराजय भोगे पनि इङ्ल्यान्डसँग ६–१ को हार भोग्दा गोल गरेर ठूलो खुसी मनायो । त्यो विश्वकपमा पानामाले गरेको पहिलो गोल थियो।

जसको खुसीमा फराकिलो हार विर्सँदै पानामाका सडकहरुमा समर्थकले खुसी मनाए भने गोल हुनेवित्तिकै स्थानीय टेलिभिजनका कमेन्टेटरले समेत अवरुद्ध गलाबाट ठूलो श्वरमा निस्किएको थियो, ‘मेरो देशले गोल गरेको छ । गोऽऽऽऽऽल । मेरो देशको पहिलो गोल’ भन्दै भावना पोखेका थिए।

प्रकाशित: २ श्रावण २०७५ ०४:४७ बुधबार

रूस विश्वकपः अकल्पित सफलता