मस्को – विश्वकप फुटबलको फाइनलमा पुलिसको पोशाक लागएर मैदानभित्र छिरेर विरोध जनाएका महिला अधिकारवादी समूह ‘पुसी रियोट’का चार सदस्यलाई रूसले सोमबार १५ दिनका लागि जेल चलान गरेको छ।
मस्को अदालतले भेरोनिका निकुलशिना, ओल्गा कुारचेभा, ओल्गा पाखतुसोभा र पेओट भर्जिलोभलाई १५ दिनका लागि जेल सजाय तोक्नुका साथै तीन वर्षका लागि खेलकुद गतिविधी भएका स्थानमा प्रवेश रोक लगाएको मिडियाजोन वेभसाइटमा उल्लेख छ । भर्जिलोभ मिडियाजोन वेभसाइटका संस्थापक हुन् । जहाँ महिला अधिकारका समाचारलाई प्रमाथिकता दिइन्छ।
मस्कोस्थित लुझनिकी रंगशालामा आइतबार सम्पन्न फाइनलको दोस्रो हाफमा ती चार जना मैदानभित्र दौडिएका थिए । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुएल मार्कोन र क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचसँग फाइनल खेल हेरेका थिए।
उक्त घटना भएलगत्तै पुसी रियोटले ६ राजनीतिक मागसहित घटनाको जिम्मेवारी लिएको थियो । उनीहरुको पहिलो मागमा सबै राजनीतिक बन्दीलाई रिहा गर्नु पर्ने उल्लेख छ । अन्य मागमा शान्तिपूर्ण विरोध गर्न पाउनुपर्ने र देशभित्र राजनीतिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने उल्लेख छ । फेब्रुअरी २०१२ मा सेन्ट्रल मस्को चर्चमा पुटिनविरोधी गित गाएपछि पुसी रियोटको चर्चा बढेको थियो।
प्रकाशित: २ श्रावण २०७५ ०४:३५ बुधबार