खेल

स्वर्णिम पुस्ताका भरपर्दा गोलकिपर

थियाबाउट कोर्टोइस

मस्को – बेल्जियम अहिले फुटबलमा स्वर्णकालको अनुभव गरिरहेको छ । बेल्जियन स्वर्णिम पुस्ताको स्मरण गर्दा इडेन हाजार्ड, केभिन डी ब्रुयना, रोमेलु लुकाकु, द्रिइस मार्टिन्स, भिन्सेन्ट कोम्पनीसँगै नछुट्ने नाम हो थियाबाउट कोर्टोइस।

रूसमा आइतबार सम्पन्न विश्वकपमा बेल्जियमको स्वर्णिम पुस्ताले तेस्रो स्थान हासिल गर्दा पोस्टमा कोर्टोइसको उपस्थितिले मुख्य भूमिका खेलेको थियो।

तेस्रो स्थानको प्लेअफसहित कुल सात खेल खेल्ने क्रममा कोर्टोइसले दुई दर्जनभन्दा बढी खतरनाक प्रहार बचाएर बेल्जियमको सफलता आधार सधैं कायम राखेका थिए । रूसमा गरेको त्यही प्रदर्शनका कारण चेल्सीका २६ वर्षे गोलकिपर आइतबार विश्वकपको समापन समारोहमा उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोब्सको पुरस्कारबाट सम्मानित भए।

गत महिना रुसमा विश्वकप सुरु हुनुअघि नै बेल्जियमलाई उपाधिका दाबेदारमध्ये एकको सूचीमा पण्डितहरूले राखेका थिए । पण्डितहरूले यसअघि कहिल्यै फाइनलसम्म पनि नपुगेको टिमलाई उपाधि दाबेदारको सूचीमा राख्नुको पछाडि टिममा भएका खेलाडीको फर्म कारण थियो।

२०११ मा १९ वर्षको उमेरमा फ्रान्सविरुद्ध खेल्दै बेल्जियन फुटबल इतिहासमै सबभन्दा कम उमेरको गोलकिपरका रूपमा कीर्तिमान बनाएका कोर्टोइसले ६५ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । तर यसमध्येमा रूस विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलविरुद्धको खेल कोर्टोइस र उनको टोलीका लागि स्मरणीय रह्यो।

उपाधिको मुख्य दाबेदार नेइमार र फिलिप कौटिन्होप्रेरित ब्राजिलमाथि २–१ को जित हासिल गर्दै बेल्जियमले सेािमफाइनलमा स्थान पक्का गरेको थियो । ब्राजिलको लगातार आक्रमणलाई निस्तेज पार्दा बेल्जियमको टोलीमा कोर्टोइसको प्रदर्शन सबभन्दा महत्वपूर्ण थियो।

अत्यन्तै मिहिनेती गोलकिपरका रूपमा लामो समयदेखि छवि बनाएका अग्ला कोर्टोइसले गोल्डेन ग्लोब जितेपछि भने, ‘उत्कृष्ट गोलपिकर घोषित हुनु पक्कै पनि मेरा लागि खुसीको विषय हो । तर टिमले फाइनल खेलेको भए मलाई अझै बढी खुसी मिल्थ्यो।’

 

प्रकाशित: १ श्रावण २०७५ ०५:०१ मंगलबार

स्वर्णिम पुस्ताका भरपर्दा गोलकिपर